थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्ट (रुदाने) को ९२औं जन्मजयन्ती तथा थाहा दिवस, २०८२ को अवसरमा दुई भिन्दाभिन्दै क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई मकवानपुरको थाहा नगरपालिकामा सम्मान गरिएको छ । थाहा नगरपालिका र फरक सोचले विकास घर शिखरकोटमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान दिएका थाहानगर चित्लाङका पत्रकार सुरेश विडारीलाई ‘थाहा पत्रकारिता पुरस्कार, २०८२’ बाट सम्मान गरिएको छ भने पूर्व शिक्षक सानोभाइ कार्कीलाई ‘तीर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान, २०८२’बाट सम्मान गरिएको छ ।

यि दुई विधामा सामाजिक संस्था फरक सोचले थाहा दिवसको अवसर पारेर वर्षेनी सम्मान गर्ने गरेको छ । फरक सोचले सामाजिक सम्मान वि.सं. २०७१ र पत्रकारिता पुरस्कार वि.सं. २०७२ सालबाट शुरु गरेको हो । हरेक वर्ष प्रदान गरिने पत्रकारिता पुरस्कारको राशि १० हजार रूपैयाँ रहेको छ । पुरस्कारको राशि उद्यमी माधव कार्कीले प्रायोजन गर्दै आएका छन् । पत्रकार विडारी डेढ दशकदेखि खोज पत्रकारितामा सक्रिय छन् । खोजमूलक पत्रकारितामार्फत् सार्वजनिक सरोकारका विषय उजागर गर्दै सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणमा योगदान पुर्याएका बिडारीलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो । विडारीका समाचारहरूले सुशासन, पारदर्शिता र जनहितका मुद्दालाई प्राथमिकतामा राखेको आयोजकको भनाइ छ । लामो समय शिक्षण पेशामा योगदान पु¥याई हालै मात्र सेवा निवृत्त भएका कार्की जनकल्याण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् ।

 

कार्यक्रममा रुदानेको योगदान, दर्शन र थाहा आन्दोलनको ऐतिहासिक महत्वलाई स्मरण गर्दै विकास घर प्राङ्गणमा रहेकोे शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले रुदानेलाई जनताको चेतना जगाउने, जनमुखी र विकासप्रेमी महान व्यक्तित्वको रूपमा सम्झाना गरे । उनको विचार आजको समाजका लागि अझै सान्दर्भिक रहेको गोपालीले बताउ । रुदानेको संघर्ष र दर्शनले स्थानीय तहदेखि राष्ट्रियतहसम्म सकारात्मक सोच विकास गर्न प्रेरणा दिएको उनको भनाइ थियो । रुदाने कुनै एक दल वा विचारधाराको सीमाभित्र सीमित व्यक्तित्व नभएको उल्लेख गर्दै उनको दर्शनलाई सबै राजनीतिक दलले आत्मसात गर्नु आजको आवश्यकता भएको उल्लेख गरे । रुदानेको जन्मस्थल घर्तीखोलामा उनको स्मृतिमा संग्रहालय स्थापना गर्न नगरपालिकाले पहल थाल्ने प्रतिबद्धता गरे ।

थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरोन्द्र कु्मार रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीले कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै सहभागीहरुलाई स्वागतका साथै मायाँको चिनो प्रदान गरेका थिए । फरक सोचले उनै रुपचन्द्र विष्टसँग सम्बन्धीत लेखको प्रारम्भिक संग्रह तयार गरेर अतिथीहरुलाई मायाँको चिनो दिएको थियो ।

कार्यक्रममा सम्मानितद्वय विडारी र कार्की, नेपाली काँग्रेस नगर उपसभापति नवराज कार्की, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सदस्य इन्द्र श्रेष्ठ, बिमल कुमार विष्ट, अरुण रायमाझी, निरञ्जन श्रेष्ठ, संघर्ष विष्टलगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा थाहा–४ का वडाध्यक्ष नारायण लामा, राप्रपा क्षेत्रिय अध्यक्ष नविन रायमाझी, जनमुखी सहकर्मीहरू, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, थाहा नगरपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। वक्ताहरुले स्वर्गिय रुपचन्द्र बिष्टको जीवन, विचार र थाहा आन्दोलनले समाजमा पारेको प्रभावबारे भनाइ राखेका थिए ।

यसैबीच सो अवसरमा थाहा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले वडा नम्बर ३ र ४ का ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार वडा ज्येष्ठ नागरिक समन्वय समितिको सिफारिसका आधारमा वडा नम्बर ३ का १५ जना र वडा नम्बर ४ का १५ जना ज्येष्ठ नागरिकलाई न्यानो ब्ल्याङ्केट, गल्बन्दी, थरमस तथा बेतको लौरो प्रदान गरिएको थियो ।