रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेको हो । नगरप्रमुख वासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आयोगको काठमाडौंस्थित कार्यालयमा  सम्झौता गरेको नगरपालिकाले जनाएको छ । यसैसँगै तिलोत्तमामा रहेको बर्षौंदेखिको भूमिसम्बन्धी समस्या समाधान हुने नगरपालिकाको अपेक्षा छ ।

यसअघि तिलोत्तमा नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत संकलन भएको थियो ।अब संकलित तथ्यांक इन्ट्री गर्ने र जग्गा नापजाँचका लागि कन्ट्रोल पोइन्ट राखिनेछ ।

नगर प्रमुख घिमिरेले आयोगसँग कार्यसम्झौता गरेसँगै प्रक्रियाअनुसार भूमि समस्या समाधानको काम अघि बढ्ने बताए ।  नगरपालिकामा झन्डै ८ हजार जनाले भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फाराम भरेका छन् । नयाँ सम्झौताअनुसार आयोगले भूमिहीनलाई लालपूर्जा दिन आवश्यक प्रक्रिया अघि बढाउनेछ भने नगरपालिकाले जनशक्ति तथा अन्य व्यवस्थापकीय कार्य गर्नेछ ।

 

पालिका प्रेस
थप जानकारी