जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केन्द्र तोक्ने विषयमा जनप्रतिनिधिबीच मतभेद देखिएको छ । आधा जनप्रतिनिधिले अहिलेको अस्थायी केन्द्र भएको आसपास क्षेत्रमा केन्द्र तोकिनुपर्ने धारणा राखेका छन् । केहीले साविकको विराट गाविस भएको क्षेत्रमा गाउँपालिका केन्द्र तोकिनुपर्ने अडान राखेका छन् ।

दुई थरीको अडानका कारण गाउँपालिकाले केन्द्र विवाद टुंगोमा पु¥याउन सकेको छैन । केन्द्र विवादका कारण गाउँपालिकाको आठौँ गाउँसभा अनिश्चित बनेको छ । सभा सदस्यले पहिले गाउँपालिकाको केन्द्र टुंगिएपछि मात्र गाउँसभा चल्न दिने अडान राखेका छन् । बिहीबारका लागि वोलाएको गाउँसभामा दर्जन बढी ऐन, कानुन र कार्यविधि पेस गर्ने कार्यसूची तय भएको थियो । तर, केन्द्र विवाद नसुल्झिएसम्म कुनै पनि काम अघि बढ्न नदिने अडान सभा सदस्यले राखेपछि गाउँसभा अन्योलमा परेको छ । जबसम्म केन्द्र विवाद टुंगिएर अघि बढ्दैन, तबसम्म गाउँसभा हुन नदिने गाउँसभा सदस्यको अडान छ । गाउँसभा सदस्यले तत्काल गाउँपालिका केन्द्रको टुंगो लगाउन माग राखेका छन् । गाउँसभा सदस्य पदमबहादुर रोकायाले जबसम्म गाउँपालिका केन्द्रको टुंगो लाग्दैन तबसम्म गाउँसभा चल्न नदिइने बताए ।

उनले भने, ‘हाम्रो पाँच वर्षे कार्यकाल सकिन लागिसक्यो । पाँच–पाँच वर्षसम्म पनि गाउँपालिका केन्द्रको टुंगो नलाग्नु लाजमर्दो हो । अब सबै मिलेर केन्द्र टुंगो लगाएर मात्र गाउँसभा गर्नतिर लागौँ ।’ तीन दिनदेखि निरन्तर केन्द्र विवादका विषयमा सहमति गर्न छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन । गाउँपालिका पहिले कार्यपालिकाको बैठकमा टुंगोमा लगाएपछि मात्र गाउँसभामा लैजाने तयारीमा जुटेको छ ।  पहिले केन्द्र विवाद हुँदा गाउँपालिकामा तोडफोड भएको थियो । अहिले पनि तोडफोड हुन सक्ने भन्दै सदरमुकाम खलंगादेखि सशस्त्र प्रहरी परिचालन गरिएको थियो । जग्गा उपलब्ध गराउँछौँ केन्द्र तोकिनुप¥यो भन्दै लुड्कु गाउँका स्थानीयले माग गरेका छन । पहिले केन्द्र टुंगो लगाऔँ, त्यसपछि अन्य विषयमा छलफल गरौँ भन्दै जनप्रतिनिधि तत्काल गाउँसभा गर्न मानिरहेका छैनन् । ‘अहिलेको गाउँपालिका कार्यालय आसपास केन्द्र बनाउने धेरै जनाको सहमति देखिन्छ’, एक कर्मचारीले भने, ‘पाँच वडाका मानिसको साविकको विराट गाविसमै गर्नुपर्छ भन्ने छ । केन्द्र विवाद मुख्य समस्या भयो । यो विवाद नसुल्झँदासम्म गाउँपालिकाको सबै काम प्रभावित हुन सक्ने देखिएको छ । ’

गाउँ कार्यपालिकाले गाउँसभामार्फत केही कानुन पारित गराउन थालेको छ । तर, केन्द्र विवाद हुँदासम्म कानुन पारित हँुदैन । गाउँसभा सदस्य सिंहराज सार्कीले भने, ‘हामी गाउँसभा रोक्छौँ । गाउँपालिका केन्द्र तोक्न दबाब दिन्छौँ । ’ पहिलो चरणमा सहमतिको प्रयास गर्न दबाब दिँदै सभा सदस्यले सहमतिको सम्भावना नभए निर्वाचनका माध्यमबाटै भए पनि केन्द्र तोकिनुपर्नेमा जोड दिएका छन् । गाउँसभामा प्रमुख कार्यसूचीका रूपमा गाउँपालिकाको केन्द्र नहुँदासम्म सभा चल्न नदिइने अडान सभा सदस्यले राखेका छन् । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कठायतले सभामा केही कानुन पारितका लागि पेस गरेका थिए । उनले कानुन पारित गर्न आग्रह गरेपछि सभा सदस्यले यो गाउँसभामा केन्द्र तोक्नेबाहेकको विषय प्रवेश गर्न नहुने भन्दै गाउँसभा रोक्न सुझाएका थिए । गाउँपालिका केन्द्र तोक्ने विषयमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष नरवीर रावत बताउँछन । उनले भने, ‘अहिले गाउँपालिका केन्द्र यहाँको मुख्य विषयवस्तु बनेको छ । सबैसँग छलफल चलिरहेको छ । सहमतिका आधारमा केन्द्र तोक्ने विषयमा गाउँपालिका जिम्मेवार भएर प्रस्तुत भइरहेको छ ।’ गाउँपालिका केन्द्र तोकेर सेवाप्रवाहलाई प्रभावकारी बनाउन स्थानीयले आग्रह गरेका छन् ।

पालिका प्रेस
थप जानकारी