नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले आफ्नो अघिल्लो संसदीय कार्यकालमा सदनभित्र सधैँ श्रद्धाका साथ जनमुखी नेता रुपचन्द्र विष्ट ‘रुदाने’को नाम लिने गरेको स्मरण गरेका छन् । चुनावी अभियानका क्रममा थाहा नगरपालिकाको पालुङमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बर्तौलाले आफूले ‘रुदाने’को कार्यशैलीलाई नै आफ्नो राजनीतिक मार्गदर्शक बनाएको बताए ।
विगतको अनुभव सुनाउँदै बर्तौलाले भने— “मैले संसदमा रहँदा सधैँ रुदानेको आदर्शलाई सम्मानका साथ उठाएको छु । सदन चल्दा बैठकमा जनताको आवाज बुलन्द गर्ने र नचल्दा जनताकै घरआँगनमा पुग्ने गरेको थिएँ ।’ उनले जनताको गुनासो र सुझाव संकलन गरेर सदनमार्फत सरकारलाई जवाफदेही बनाउन आफूले कहिल्यै कसर बाँकी नराखेको दाबी गरे ।
योजनादेखि बजेटसम्म बर्तौलाले रुदानेको सम्मान र थाहानगरको समृद्धिका लागि आफ्नो पहलमा महत्वपूर्ण कामहरू सुरु भएको फेहरिस्त प्रस्तुत गरे । उनले आफुले मनहरी–राक्सिराङ–कैलाश–थाहा सडकलाई ‘रुपचन्द्र विष्ट मार्ग’ नामकरण गरी डिपिआर सम्पन्न भएको र उक्त सडकका लागि बजेट विनियोजन भएर काम अगाडि बढिसकेको जानकारी दिँदै उहाँले यसलाई पूर्णता दिन पुनः सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

एमाले मकवानपुरका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले मिडियालाई जानकारी दिए अनुसार थाहा नगरलाई केन्द्रविन्दु बनाएर भीमफेदी र इन्द्रसरोवरलाई जोड्दै बृहत् पर्यटन सर्किट बनाउने योजना अघि सारिएको छ ।

कार्यक्रममा एमाले नेता सुरेन्द्रमान प्रधानले स्थानीय भन्दै मत माग्ने अन्य उम्मेदवारहरूको आलोचना गरे । उनले कुनै समय मेयर हुँदा नगरपालिकालाई १० करोड बेरुजु र ऋणमा डुबाउनेहरूले विकासको कुरा गर्नु हास्यास्पद भएको बताए । यस्तै, एमाले थाहा नगर उपाध्यक्ष हेम लामाले तामाङ भाषामा मतदातालाई बुझाउँदै भने— “कानुनमा स्नातक र दुई विषयमा स्नातकोत्तर (मास्टर्स) गरेका बर्तौला नै सबैभन्दा योग्य उम्मेदवार हुन् । संसदमा हाम्रो क्षेत्रको वकालत गर्ने क्षमता उहाँमा मात्र छ।“
थाहाका विभिन्न वस्तीहरुमा लुगेका बर्तौलासँग ९ फागुनमा एमाले नेताहरु कल्पना बलामी, बिमल प्रसाद ढकाल, अचुतम ढकाल, सुजन रायमाझी, युवराज लामा, सुनिता दोङ, हेम थिङ लामा, सुजन खत्री, राम राजा केसी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्