मकवानपुरको मनहरी गाउँपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा आएको छ । ९ वैशाखमा आयोजित कार्यक्रममा गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) वितरण र सम्बन्धित सेवा सुरु गरिएको हो।

आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख युक्तप्रसाद सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै सेवाको औपचारिक सुरुवात गरिएको हो। संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाट करदाता सेवा प्रवाह गर्ने नीति लागू भएसँगै मकवानपुरमा पहिलोपटक यस्तो सेवा गाउँपालिकामार्फत सुरु भएको हो।

सेवा सुरु भएको अवसरमा पहिलोपटक व्यक्तिगत प्यान लिने निर्मला मल्ल र अनमोल गोले तथा व्यावसायिक प्यान लिने सिर्जना टेलर्सकी सञ्चालकलाई गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, राजस्व कार्यालयका प्रमुख सुवेदी र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले प्रमाणपत्र प्रदान गरेका थिए।

अब मनहरी गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायिक प्यान नम्बर जारी गरिनेछ। साथै प्यानसम्बन्धी विवरण संशोधन, आयकर दर्ता तथा अद्यावधिकका काम पनि स्थानीय स्तरमै हुनेछन्। अन्तःशुल्क इजाजतपत्र जारी तथा नवीकरणका लागि आवश्यक कागजात सङ्कलन र प्रक्रिया अगाडि बढाउने काम गाउँपालिकाबाटै गरिनेछ भने अन्तिम स्वीकृति सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुनेछ।

करदाता सेवा सञ्चालनका लागि गाउँपालिकाका तीन जना कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौंडाले तालिम दिएको छ र आवश्यक उपकरणसमेत उपलब्ध गराइएको छ। स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि करदातालाई समय बचत हुनुका साथै छरितो सेवा पाउने विश्वास गाउँपालिका अध्यक्ष कालाखेतीले व्यक्त गरेका छन्।यसअघि नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १७ गतेको निर्णयले करदाता सेवा कार्यालयहरू खारेज गर्ने निर्णय गरेको थियो। प्रारम्भमा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सुरु गरिएको सेवा अब स्थानीय तहबाट सञ्चालन हुने व्यवस्था गरिएको छ।

पालिका प्रेस
थप जानकारी