बाँकेको डुडुवा गाउँपालिका अध्यक्षले नै ऐलानी जग्गामा आफ्ना निकट मान्छे बस्न लगाएपछि विवाद उत्पन्न भएको छ। सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नु पर्नेमा यसरी मानिस बसाल्न थालेपछि डुडुवा गाउँपालिका वडा नं. ६ मा करिब २ विगाहा जग्गा कब्जा भएको छ । कालाबन्जरस्थित ऐलानी जग्गामा गिद्धेनजर परेपछि अहिले २ विगाहा जग्गा भूमिहीन तथा सुकुम्बासीका नामबाट कब्जा भएको छ । डुडुवा गाउँपालिकाले अस्थायी प्रबन्ध भन्दै अध्यक्षका निकट मान्छेलाई बसाउँदा अन्यले पनि सोही जग्गामा बस्न थालेपछि विवाद उत्पन्न भएको हो ।
एकाएक यसरी ऐलानी जग्गामा व्यक्तिहरु आएर कब्जा गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । यसरी कब्जा गर्नेमा गाउँपालिका अध्यक्षका निकटका व्यक्ति र अन्य ठाउँमा घरजग्गा भएकै मानिसहरु भए पनि हालसम्म करीब ४० टहरा बनिसकेका छन् ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले अस्थायी प्रबन्धका लागि छरिएर रहेका मानिसलाई केही समयका लागि बस्न दिएको बताए पनि सोही गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र भने सरकारी जग्गा कसैको आदेशमा भूमिहीन सुकुम्बासीका नाममा कब्जा हुनु दुर्भाग्य भएको बताउँछन् । उनले यसरी जमिन कब्जा भएपनि आफूहरुले स्थानीय प्रशासन र प्रहरीमा जानकारी दिए पनि सुनुवाइ नभएको गुनासो गरे ।
यता, जिल्ला प्रशासन कार्यालय, बाँकेले भने केही क्षेत्रमा कानुन विपरित सार्वजनिक सम्पत्ति व्यक्तिलाई वितरण गर्ने काम गरेको पाइएको उल्लेख गर्दै त्यसको संरक्षण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा वितरण गर्न स्थानीय तहहरुले नमिल्ने कानुनी व्यवस्था रहेकाले त्यसको संरक्षण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्