मकवानपुर जिल्लाका तीन स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान) दर्तासहितका आधारभूत करदाता सेवा विस्तार गरेको छ । कार्यालयले मनहरी, बागमती र बकैया गाउँपालिकाबाट सेवा सुचारु गरेको हो । आन्तरिक राजस्व कार्यालय हेटौँडाले नेपाल सरकारको कर सेवा पहुँच विस्तार नीतिअनुसार पालिकाहरूसँग सहकार्य गर्दै सेवा स्थानीय तहसम्म विस्तार गरेको हो ।

कार्यालयका अनुसार आगामी असार १५ गतेभित्र जिल्लाका सबै स्थानीय तहबाट सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । हेटौँडा उपमहानगरपालिका, भिमफेदी, कैलाश र मकवानपुरगढी गाउँपालिकासँग सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भइसकेको जनाइएको छ । आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीका अनुसार गत माघ महिनाबाट अभियान सुरु गरिएको हो । पहिलो चरणमा जिल्लाका टाढाका स्थानीय तहलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको उनले बताए ।

कार्यालयले स्थानीय तहसँग गरेको कार्यक्षेत्रगत सर्त (टीओआर) अनुसार पालिकाले व्यक्तिगत तथा व्यावसायिक प्यान जारी गर्ने, व्यक्तिगत प्यानलाई व्यावसायिकमा रूपान्तरण गर्ने, दर्ता विवरण संशोधन गर्ने तथा करदाताको अभिलेख तयार गर्ने काम गर्नेछन् । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता, आयकरबाट भ्याटमा रूपान्तरण, करचुक्ता प्रमाणपत्र जारी गर्ने तथा कायार्ल य स्थानान्तरणसम्बन्धी सेवा पालिकाले अनलाइन प्रणालीमार्फत आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्नेछन् । त्यसपछि राजस्व कार्यालयले प्रणालीबाट प्रमाणीकरण गरेपछि सेवाग्राहीको काम स्थानीय तहबाटै सम्पन्न हुने व्यवस्था गरिएको छ ।

यद्यपि राजस्वसम्बन्धी अनुगमन, उजुरी, करछली अनुसन्धान, करदाता शिक्षा तथा मूल्य अभिवृद्धि कर दर्ताअघि गरिने मल्ूयाङ्कनजस्ता काममा भने आन्तरिक राजस्व कार्यालयकै नेतृत्व रहने व्यवस्था गरिएको छ । प्रमुख कर अधिकृत सुवेदीले स्थानीय तहबाट सेवा विस्तार भएपछि कर प्रशासन थप नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे । स्थानीय तहहरूले पनि संघीय कर प्रणालीसँग प्रत्यक्ष सहकार्य गर्न पाउँदा उत्साह देखाएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी