बजेट वक्तव्यमा कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उल्लेख छ । प्रोत्साहन भत्ता कार्यसम्पादनका आधारमा दिने अवधारणा हो । तर, सरकारले सबै कर्मचारीलाई एकमुस्ट १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

आइतबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रोत्साहन भत्ताको विषयमा प्रश्न उठेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धिको आधारमा १० प्रतिशत प्रोत्साहन दिइने प्रस्ट पारे । ‘बढेको तलब (१० प्रतिशत तलब वृद्धिपछि) को आधारमा अर्को १० प्रतिशत प्रोत्साहन भत्ता दिइएको हो,’ उनले भने, ‘यो अहिलेलाई सबैले पाउँछन् ।

पछि कार्यसम्पादनसम्बन्धी मिजर (मापदण्ड) सुरु गरिएपछि मिलान हुन सक्छ । त्यसपछि दिइने प्रोत्साहन भत्ता भने साँच्चिकै कार्यसम्पादनकै आधारमा हुनेछ ।’ महँगी भत्ता यथावत् राखिएको विषयसमेत उल्लेख गर्दै तलबबारेको चासोउपर उनले भने, ‘तलब वृद्धि २१ प्रतिशत नै हो है, यसमा द्विविधा नहोस् ।’

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार प्रोत्साहन भत्ता हाललाई सबैलाई एकमुस्ट दिइए पनि पछि मापदण्ड ल्याएर कार्यसम्पादनमा आधारित बनाई व्यवस्थित गर्ने योजना छ ।

पालिका प्रेस
थप जानकारी