चार महिनासम्म दुःख गरेर फलाएको आलुले भाउ नपाउँदा मकवानपुर थाहा नगरपालिकाका किसान चिन्तित बनिरहेका बेला कतिपय किसान भने नयाँ खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। हरेक वर्ष आलुको उचित भाउ नपाउने समस्याले निरन्तर चिन्तित बनाउँदै आएपछि कृषकहरू परम्परागत खेती प्रणालीबाट बाहिर निस्केर व्यावसायिक तथा विविधीकृत खेतीतर्फ उन्मुख भएका छन्।

आम्दानीको जोखिम कम गर्न यहाँका कृषकहरूले फरक–फरक जातका तरकारी खेती गर्न थालेका छन्। थाहाका पुराना तथा व्यावसायिक कृषक निरोज प्रधानले परम्परागत तरकारी खेतीसँगै उच्च मूल्य र माग भएका नयाँ प्रजातिका तरकारी उत्पादन गरेर कृषि पेसालाई थप दिगो बनाउने प्रयास गरिरहेका छन्। अन्य जातका आलु १० देखि १५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समयमा उनले उत्पादन गरेको कालो आलुले प्रतिकिलो एक सय रुपैयाँभन्दा बढी मूल्य पायो ।

   

यतिबेला उनको खेतमा रातो र पहेँलो रंगको भिँडेखुर्सानीका बिरुवा लहलह भएका छन्। हरियो र पहेँलो रंगका फर्सी टिपेर बजार पठाइरहेका छन्। यी उत्पादनको बजारमा राम्रो माग र आकर्षक मूल्य रहेको उनको अनुभव छ । उनको खेतमा फलेको हरियो फर्सीको मूल्य ३० देखि ४० रुपैँया प्रतिकिलो छ। तर सोही खेतको गह्रामा फलेका पहेँलो फर्सीको मूल्य एक सय रुपैयाँदेखि १३० रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री हुने गरेको छ। ‘हरियो फर्सी जता पनि फल्ने भयो, त्यो कारण पनि भाउ अलि कम छ,’ प्रधानले भने, ‘पहेँलो फर्सी भने ठूला होटल र मार्टहरूमा जान्छ । यसको मूल्य र माग पनि बढी छ। होटलहरूमा सलादको रूपमा प्रयोग हुने पहेँलो फर्सीको माग पु¥याउन मुस्किल छ।’

फाइल फोटो

प्रधानले मात्र होइन, थाहाका अन्य कृषकहरूलाई पनि परम्परागत बालीको सीमित घेराबाट बाहिर निकालेर नयाँ र उन्नत जातका तरकारी खेतीतर्फ आकर्षित गराउने मुख्य भूमिकामा छन् कृषक प्रधान । उनले बिउदेखि बजारसम्मका लागि सहयोग गरिदिएपछि अन्य किसानहरूले पनि फरक जातका तरकारी लगाउन सुरु गरेका छन्। बजारमा राम्रो मूल्य पाउने भएपछि जोखिम कम गर्न सकिने भन्दै कृषकहरू फरक प्रजातिका तरकारी खेती विस्तारमा उत्साहित भएका हुन्। बजारको मागलाई थाहाकै उत्पादनले धान्ने लक्ष्य लिइएको प्रधान बताउँछन्।

फाइल फोटो

‘मैले मात्रै उत्पादन गरेको सामानले माग धान्न सकिँदैन, त्यसैले यहाँ अन्य किसानहरूलाई पनि बिउ दिएर सिकाइरहेको छु,’ उनले थपे, ‘मेरो सामान उत्पादन भएको दिन मेरो सामान पठाउँछु। नभएको दिन अरू साथीहरूले उत्पादन गरेको सामान पठाउँछु। बाहिरबाट आयात कम होस् भनेर अरू किसानहरुलाई पनि प्रोत्साहन गरिरहेको छु।’ कृषि उत्पादनको पकेट क्षेत्रमा एउटा किसानले अपनाएको नयाँ सोच र फरक प्रजातिका तरकारी खेतीले थाहाका अन्य कृषकलाई पनि आधुनिक तथा बजारमुखी कृषि प्रणालीतर्फ आकर्षित गरेको छ। उनको पहल र अनुभव आदानप्रदानका कारण थाहामा नयाँ प्रविधि र नवीन बालीको खेती विस्तार हुँदै गएको देखिन्छ, जसले स्थानीय कृषिलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने आधार तयार गरेको छ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा बसोबास गर्ने स्थानीयको प्रमुख आयस्रोत कृषि हो।

फाइल फोटो

पालिका प्रेस
थप जानकारी