विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाको आयोजनामा हेटौँडा उपमहानगरपालिका–१८ र वडा नं. ६ मा ‘प्लाष्टिकका बोतलसँग फलफूलका बिरुवा साट्ने’ कार्यक्रम भएको छ। वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा १० वटा प्लाष्टिकका बोतल बराबर एक वटा फलफूलको बिरुवा प्रदान गरिएको थियो। उक्त कार्यक्रममार्फत दुई स्थानबाट ४०० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले प्रयोग भइसकेका प्लाष्टिकका बोतल संकलन गरी ल्याएका थिए भने त्यसबापत उन्नत जातका फलफूलका बिरुवा प्राप्त गरेका थिए। यस अभियानले प्लाष्टिकजन्य फोहोर व्यवस्थापनसँगै वृक्षारोपणलाई प्रोत्साहन गरेको आयोजकको भनाइ छ। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुुवप्रसाद अधिकारीले वातावरण संरक्षण, हरियाली विस्तार तथा घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले स्वच्छ, हराभरा र वातावरणमैत्री नगर निर्माणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१८ का वडा अध्यक्ष अनिलकुमार बानियाँले यस्ता कार्यक्रमले वातावरण संरक्षणका साथै स्थानीय स्तरमा फलफूल उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिए । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले घरमा थन्किएका प्लाष्टिकका बोतलको सदुपयोग हुनुका साथै फलफूलका बिरुवा प्राप्त गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता अभियानले वातावरण संरक्षणप्रति नागरिकको चासो बढाउने र वृक्षारोपण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। कार्यक्रमअन्तर्गत उन्नत जातका लिची, आँप, अम्बा, एभोकाडो, कागतीलगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको थियो।

आयोजकका अनुसार विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिकाका विभिन्न ६ स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ । अभियानमार्फत एक हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य रहेको तथा हालसम्म उत्साहजनक सहभागिता प्राप्त भएको जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी