मकवानपुर थाहा नगरपालिकामा करदाता सेवा सुरु भएको छ । आन्तरिक राजश्व कार्यालय हेटौंडा र थाहा नगरपालिकाबीच १६ वैशाखमा भएको समझदारी पत्र बमोजिम ४ असारबाट आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू थाहा नगरपालिकाबाटै उपलब्ध हुने भएको हो ।

अब थाहा नगरपालिकाबाट “आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुने करसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्यविधि, २०८२” बमोजिम व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) वितरण, नगर क्षेत्रमा ठेगाना भएका मुल्य अभिवृद्धि करमा आवद्ध व्यवसायीको कागजात भिडाइ आन्तरिक राजश्व कार्यालय पठाउने, करचुक्ता माग गर्नका लागि कागजात भिडाई राजश्व कार्यालयमा सिफरिस गर्ने र करचुक्ता प्रदान गर्नेलगायतको कार्य हुनेछ ।

सेवा शुभारम्भको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा सेवाग्राहीलाई प्यान प्रमाणपत्र वितरण गरिउको थियो । सेवा शुभारम्भ कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदी, थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बी.एम. एकीकृत कृषि तथा पशुपन्छी फार्म थाहा–१०, फुर्सोमाटा कृषि तथा पशुपन्छी फार्म थाहा–२ तथा लाई व्यावसायिक पान नम्बर र थाहा नगरपालिका–३ निवासी राधिका रायमाझीलाई व्यक्तिगत प्यान कार्ड वितरण गरिएको थियो । सो अवसरमा नगर प्रमुख विष्णु बहादुर विष्टले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले हेटौंडासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए । नगरवासीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो। करसम्बन्धी आधारभूत सेवा नगरपालिकाबाटै उपलब्ध हुनु संघीयताको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण उदाहरण भएको विष्टको भनाइ थियो ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले कर प्रशासनलाई नागरिकको घरदैलोमा पु¥याउने उद्देश्यअनुसार स्थानीय तहसँगको सहकार्यमा सेवा विस्तार गरिएको जानकारी दिए । स्थानीय तहबाट सुरु भएको कर सेवाले करदाताले सामान्य सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरे । उनले भने–‘ करदाताको सहभागिता बढ्नुका साथै कर प्रणालीप्रति विश्वास र पहुँच पनि विस्तार हुनेछ।’

नेपाल सरकारले १७ कार्तिकमा गरेको निर्णयलाई कार्यान्वयन गराउने क्रममा थाहा नगरपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पालिका प्रेस
थप जानकारी