रुकुम पूर्वका केही स्थानीयले गाउँपालिकाले लगाएको ठेक्का उल्ट्याइदिएका छन् । सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्षको यस सिजनका लागि कमलका जरा निकाल्ने ठेक्का लगाएको थियो ।

सिस्ने–५ को कमलदहमा रहेका जरा निकाल्ने र बेच्ने गरी गाउँपालिकाले ठेक्का लगाएर सम्झौतासमेत गरिसकेको थियो । मूल्य बढाबढका आधारभा आह्वान गरिएको ठेक्का सोही वडाका दीपक शाहीले पाएका थिए । शाहीले ६० दिनसम्म कमलका जरा निकाल्न गाउँपालिकासित १ लाख २५ हजार रुपैयाँमा सम्झौता गरेका थिए । शाहीले जरा निकाल्नसमेत थालेका थिए । अब उक्त ठेक्का रद्द हुने भएको हो ।

सिस्ने–५ का केही स्थानीय र कमलदह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रमा आबद्धहरूले यो ठेक्का तोडाएका हुन् । उनीहरूले कमलको जरा निकाल्ने जिम्मा लिएका शाहीको खर्च भएको रकम फिर्ता गरी अब ननिकाल्ने बनाएका छन् । ठेक्काबापत तिरेको र तयारी खर्चसमेत गरी १ लाख ४५ हजार रुपैयाँ स्थानीयले शाहीलाई फिर्ता गरेका हुन् । लागत फिर्ता भइसकेकाले अब यस वर्ष आफूले कमलको जरा ननिकाल्ने शाहीले बताए ।

गाउँपालिका र शाहीबीच फागुन र चैत महिनामा कमलको जरा निकाल्ने गरी सम्झौता भएको थियो । उनले फागुन ५ देखि जरा निकाल्न पनि थालेका थिए । अब भने जरा निकाल्ने काम बन्द नै भएको स्थानीयले बताए । कमलको जरा निकाल्ने भनेर गाउँपालिकाले ठेक्का लगाएकै समयमा स्थानीयले यस वर्ष कमलको जरा ननिकाल्न माग गरेका थिए । पटक–पटक जरा निकाल्दा कमल नै मासिने खतरा रहेको र दह नै नासिने भन्दै स्थानीयले यस वर्ष कमलको जरा ननिकाल्न आग्रह गरेका हुन् ।