सामाजिक क्षेत्रमा क्रियाशील थाहा सेवा समाजले साउन महिनाभर मेला लाग्ने शिवलयहरुमा पुजा, स्थान तथा दर्शन गर्न पुग्ने भक्तजनहरुलाई निःशुल्क पिउने पानी र फलफूल वितरण गर्ने भएको छ । समाजले सामाजिक सेवा अभियान अन्तर्गत यसवर्षको साउन महिनाभर मेला लाग्ने शिवलयहरुमा यस्तो कायृक्रम राखेको अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।
प्रत्येक सोमबार मेला लाग्ने थाहानगरको दामनस्थित ऋषेश्वर, पालुङको पाण्डुकेश्वर महादेव मन्दिर, चम्पकेश्वर महादेव मन्दिरलगायतका शिवालयहरूमा दर्शनका लागि पुग्ने भक्तजनहरूलाई निःशुल्क पिउने पानी तथा फलफूल वितरण गर्ने कार्यक्रम राखेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतले भने–‘निःस्वार्थ सेवा नै धर्म हो’ भन्ने हाम्रो मूल भावनालाई आत्मसात् गर्दै सञ्चालन गर्न लागिएको यस सेवामूलक अभियानमा सम्पूर्ण शुभेच्छुक, समाजसेवी, युवावर्ग तथा श्रद्धालु भक्तजनहरूलाई साथ, सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।’ अहिलेका लागि केही शिवालयहरुमा पानी र फलफूलको वितरण गर्ने योजना रहेको भएपनि आवश्यकता अनुसार सेवा विस्तार गरिने उनले प्रतिक्रिया दिए ।

यसैबीच ऋषेश्वरमा ४ साउनमा परेको सोमबार थाहा सेवा समाजले स्वयंसेवी खटाई मेलालाई व्यवस्थित गर्ने भएको छ । भक्तजनहरुलाई दर्शन गर्नका लागि सहजता प्रदान गर्नका लागि समाजले स्वयंसेवी खटाएर सहयोग गर्न लागेको ऋषेश्ववर/छ्युमिग झ्याङ्छुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाले बताए । सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने समाजप्रति अध्यक्ष लामाले आभार व्यक्त गरेका छन् ।
साउनको सोमबारको अवसरमा ऋषेश्वरमा वर्षेनी देश तथा विदेशबाट समेत भक्तजनहरु पुग्ने गर्दछन् । ऋषेश्वर लगायत शिव सर्किट अन्तर्गत पर्ने थाहा नगरपालिकाको पालुङको पाण्डुकेश्वर, विसिङखेलको चम्पाकेश्वर, बज्रवाराहीको उन्मत्तेश्वर र नन्दीकेश्वर, कुन्छालको गौखुरेश्वर र आग्रा महादेवखर्कको कुटेश्वरलगायत अन्य शिव मन्दिरहरुमा साउनको सोमबार मेला तथा स्नान गर्ने परम्परा रहेको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्