बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । ९ भाद्रमा प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् ।
उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन् । उनका अनुसार विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ । थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ र नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका हुन् ।
राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका छन् । सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विभाजित बनेको थियो । सरकारलाई समर्थन गर्ने निर्णय गरेका दल नेता थापासहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको छ ।
उनीहरू चार जनालाई पदमुक्त गर्न राप्रपाले सोमबार प्रदेश सभा सचिवालयलाई पत्राचारसमेत गरेको थियो । राप्रपाका १२ जना सांसदमध्ये ७ जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहेका छन् ।
राप्रपाका बाँकी ५ सदस्य बैठकमै उपस्थित भएनन् । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक बहिष्कार गरेको छ ।













































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्