मकवानपुरको थाहा नगरपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि वेपत्ता भएका नगर क्षेत्रका नागरिकको खोजी तथा उद्दार अभियानमा सहयोग गर्न आग्रह गरेको छ । नगरप्रमुख विष्णुबहादुर विष्टले भदौ १० गते आएको बाढीपछि काम सिलसिलामा गएका थाहा नगरका १९ जना नागरिक सम्पर्कविहीन रहेको भन्दै यस कठिन परिस्थितिमा धैर्यता र संयमताका साथ एकतावद्ध भई खोजी तथा उद्दार अभियानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

नगरप्रमुख विष्टले विज्ञप्ती जारी गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्दारमा प्राप्त हुने सूचना, सहयोग र समन्वयलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ ग्रहण गर्ने बताएका छन् । बेपत्ता नागरिकको खोजी तथा उद्दारकार्यलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गर्दै टोली परिचालन गरी सम्भावित तथा प्रभावित स्थान रसुवा, नुवाकोट, पोखरा, चितवन, बर्दघाटलगायतका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकको यथार्थ अवस्था पत्ता लगाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था तथा स्थानीयवासीसँग आवश्यक समन्वय र सहकार्य भइरहेको भन्दै नगरप्रमुख विष्टले सम्भावित स्थानमा खोजीकार्यलाई थप प्रभावकारी बनाउँदै उद्दार तथा खोजी अभियानलाई निरन्तर अघि बढाइने बताए ।

विपदमा परी सयौं स्वदेशी तथा विदेशी नागरिक वेपत्ता भएको भन्दै थाहा नगरपालिकाका १९ जना नागरिक सम्पर्कविहीन भएकोमा नगरपालिका अत्यन्त दुःखी र गम्भीर बनेको जारी विज्ञप्तीमा भनिएको छ । उनले बाढीमा परी निधन भएकाप्रति श्रद्धान्जली, मृतकका परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पालिका प्रेस
थप जानकारी