अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे सञ्चालनमा कतारको लगानी भित्र्याउन आग्रह गरेका छन् । कतारका अर्थमन्त्री अलीबिन अहमद अल कुवारीसँग दोहामा भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले नेपालका ठूला पूर्वाधार तथा जलविद्युत् आयोजनामा कतारी लगानीका लागि आग्रह गरेका हुन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार मंगलबार भएको भेटवार्ता नेपाल–कतारबीचको आर्थिक सहकार्य तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा केन्द्रित थियो । भेटमा अर्थमन्त्री वाग्लेले चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वेसँगै नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना र सिम्बुवा खोला जलविद्युत् आयोजनामा कतारी लगानीका लागि आग्रह गरेका थिए । उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै ठूला पूर्वाधार तथा ऊर्जा परियोजनामा कतारको सहभागिता बढाउन आग्रह गरेका हुन् । अर्थमन्त्री वाग्लेले भोटेकोशीको विनाशकारी बाढीपछि नेपाललाई सहयोग गरेकोमा कतार सरकारप्रति आभार व्यक्त गरेका थिए । उनले बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि कतारबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

कतारमा ठूलो संख्यामा रहेका नेपाली समुदायक लागि रोजगारीका अवसर उपलब्ध गराएकोमा पनि कतार सरकारलाई धन्यवाद दिएका छन् । नेपाल र कतारबीच सन् २०२७ जनवरीमा कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरलाई ध्यानमा राख्दै अर्थमन्त्री वाग्लेले दुई देशबीचको आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । उनले यो अवसरलाई नेपालमा कतारी लगानी आकर्षित गर्ने महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न सकिने बताए । भेटमा कतारका अर्थमन्त्री अल कुवारीले सन् २०२४ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालसँगको सम्बन्धलाई कतारले उच्चमहत्व दिएको बताए । उनले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि कतार सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालका ठूला विकास आयोजनामा कतारी लगानी भित्र्याउन आवश्यक सहजीकरणका लागि आफ्नो सरकारले सहयोग गर्ने आश्वासन कतारी अर्थमन्त्री अल कुवारीले दिएको नेपाली दूतावासले जनाएको छ । यसैबीच, अर्थमन्त्री वाग्लेले जर्जियाका वित्तमन्त्री लासा खुत्सिसिभली र आर्मेनियाका वित्तमन्त्री वाहे होभहान्निस्यानसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ती भेटमा पारस्परिक हितका विषयमा विचार आदानप्रदान गर्दै नेपाल तथा सम्बन्धित मुलुकबीचको द्विपक्षीय आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उपायबारे छलफल भएको दूतावासले जनाएको छ । दोहा भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले दोहास्थित नेपाली दूतावासको भ्रमण गरेका थिए । सो अवसरमा कार्यवाहक राजदूत कुमार राईले दूतावासका गतिविधि तथा नेपाल–कतार सम्बन्धको वर्तमान अवस्थाबारे अर्थमन्त्री वाग्लेलाई जानकारी गराएका थिए ।

पालिका प्रेस
थप जानकारी