बाजुराको बूढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीले हलियाको तथ्याकं संकलन गरिने बताएका छन् । उनले प्रमाणीकरण हुन छुटेका हलियाको पुनः तथ्यांक संकलन गरिने बताएका हुन् ।

खाद्य अधिकार सवालबारे सरोकारवालाबीच सम्पन्न छलफल कार्यक्रममा नगरप्रमुख गिरीले यसका लागि कार्यपालिका बैठकमा निर्णय भएको जानकारी दिए । नगरप्रमुख गिरीले नगरपालिकामा गरिब, दलित, महिलालगायत विपन्न समुदायका स्थानीयको साझा समस्या समाधानका लागि प्रयत्न गरिरहेको सुनाए ।

कार्यक्रममा हलिया समुदायका नागरिकले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा गिरीले नगरपालिकामा हलिया समुदायको मात्र नभई अन्य विपन्न वर्गका सबै नागरिकका समस्या तत्काल समाधान गरिने प्रतिबद्धता जनाए । उनले हलियाका नाममा कार्यक्रम गर्दा जिल्ला हलिया मुक्ति समाज बाजुरालाई जानकारी तथा समन्वय हुनुपर्ने धारणा व्यक्त गरे । हलियाका सवालमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ–संस्थाका कर्मचारीलाई झोलामा छाप र लेटरप्याड बोकेर काम नगर्न उनले सुझाव दिए । नगरपालिकाको तालिम हलमा सम्पन्न छलफलमा हलिया समुदायका नागरिकले समयमा मल, बिउ पाउन नसकेको, वर्षाका कारण अवरुद्ध सिँचाइ, नहर तथा कुलो मर्मतका लागि नगरपालिकाले सहयोग नगरेको गुनासो गरे ।

पालिका प्रेस
थप जानकारी