स्याङ्जाको वालिङ नगरपालिकामा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनील्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो ।

माटो परीक्षणका लागि पोखरालगायत ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै वालिङले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । माटोमा रहेको उर्बराशक्तिमा ह्रास आउन नदिने र उर्बराशक्तिलाई जोगाइराख्न प्रयोगशालाले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । ‘पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादी प्रयोग गर्ने क्रम बढेको छ’, उनले भने, ‘जथाभावी रासायनिक मल तथा विषादी प्रयोगका कारण माटो बिग्रिन गई उत्पादन घट्दै गएकाले माटोको उपचार तथा संरक्षणका लागि आधुनिक प्रविधिको ल्याब स्थापना गरी सञ्चालनमा ल्याएका हौँ ।’ नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायन खरिद गरेकोे छ । सोमबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट निःशुल्क किसानले ल्याएको माटोको नमुना परीक्षण गरिदिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, ईसी, प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिंक, आईरनलगायत १४ प्रकारका खाद्य तत्त्वको जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताए ।

‘सुरुआती चरणमा किसानले ल्याएको माटो निःशुल्क जाँच गरी प्राप्त नतिजाका आधारमा माटोको सुधारका लागि आवश्यक परामर्श दिन्छौँ’, शाखा प्रमुख अर्यालले भने, ‘नगरका १४ वटै वडामा पुगेर किसानलाई माटोको नमुना कसरी लिने भन्ने तरिका प्रदर्शन गरी अभ्यस्त बनाइसकेपछि माटो परीक्षण सेवालाई थप नियमित र प्रभावकारी ढंगले अगाडि बढाउनेछौँ ।’

उक्त प्रयोगशालाबाट माटोमा भएका विभिन्न १४ वटा खाद्य तत्त्वको डिजिटल प्रविधिबाट यथार्थ विवरण प्राप्त हुने भएकाले पनि छिटो, छरितो र प्रभावकारी हुने शाखा प्रमुख अर्यालको दाबी छ । माटोमा रहेका विभिन्न खाद्य तत्त्वको अवस्थाबारे जानकारी पाई माटोको उपचार तथा संरक्षण गर्न सहज हुने वालिङ वडा नम्बर ८ का किसान हरिप्रसाद बगालेले बताए । ‘माटो परीक्षण गर्न पहिला पोखरा लैजानुपर्ने बाध्यता थियो’, बगालेले भने, ‘अब वालिङमै प्रयोगशाला सञ्चालनमा आएसँगै धेरै किसान लाभान्वित हुनेछन् ।’ नगरपालिकाले आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएसँगै किसान खुसी भएका छन् ।

पालिका प्रेस
थप जानकारी