राष्ट्रिय भूमि आयोगले मोरङको सुन्दर हरैचा नगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको हो । सुन्दर–हरैचा नगरपालिका वडा नम्बर १० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरु गरिएको हो । जग्गा नापजाँचमा आयोग अध्यक्ष केशवप्रसाद निरौला उपस्थित थिए । सरकारले भूमिहीन, अव्यवस्थित बसोबासीलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

स्थानीय तहको निर्वाचनअघि नै सुकुम्बासीले जग्गा पाउने अध्यक्ष निरौलाले दाबी गरे । भूमि आयोगसँग सम्झौता गरी काम थालेको सुन्दर–हरैचा पहिलो नगरपालिका हो । नगरप्रमुख शिवप्रसाद ढकालका अनुसार जग्गा नापजाँचका लागि चार वटा समूहमा प्राविधिक टोली खटाइएको छ । स्थानीय तहको निर्वाचनअगावै सुकुम्बासीलाई लालपुर्जा दिने तयारी रहेको उनले बताए । नगरपालिकाका १२ वटा वडामा सुकुम्बासी र भूमिहीन दलित छन् । ‘सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान गर्ने काम सकिएको छ,’ ढकालले भने । सुन्दर–हरैंचा नगरपालिकामा ६ हजार ७२ जनाले फाराम भरेका छन् । उनीहरूका लागि नगरपालिकाले सलकपुरमा सेवा कार्यालय सञ्चालन गरेको छ ।

सेवा कार्यालयले सुकुम्बासीको पहिचान, उनीहरूका समस्या, फारममा भएका त्रुटि सच्याउनेछ र अन्तिम नामावली नगरपालिकामा पठाउनेछ । अन्तिम नामावली आएपछि नगरपालिकाको बोर्ड बैठकले ती नाम अनुमोदन गर्नेछ । नगरपालिका बोर्डमा नगरप्रमुख, उपप्रमुख, दुई जना वडाध्यक्ष, एक दलित महिला, दुई जना कार्यपालिका सदस्य र राष्ट्रिय मान्यता प्राप्त सबै दलका एक–एक जना प्रतिनिधि हुने कानुनी व्यवस्था छ ।

सर्वपक्षीय दलगत प्रतिनिधिसहितको बोर्डको परिकल्पना गरेका कारण आस्था वा विचारका आधारमा सुकुम्बासीलाई व्यवहार गर्ने छुट नरहने भएकाले भेदभावरहित ढंगले लालपुर्जा वितरण हुने भनिएको छ ।

पालिका प्रेस
थप जानकारी