महोत्तरीको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृतलाई डेढ महिनामै सरुवा गरेपछि जनप्रतिनिधिहरूले विरोध जनाएका छन् । सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक र कार्यापालिका सदस्यहरुले विज्ञप्ति निकालेर विरोध जनाएका हुन् । जसपाका सांसद सुरेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, मन्त्रालयका सचिव सुरेश अधिकारीले चालु आर्थिक वर्षको चार महिनामा चार जना प्रशासकीय अधिकृतलाई सरुवा गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरूले बदनियतपूर्वक कर्मचारी सरुवा गरेको भन्दै जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।

सांसद यादवले गाउँपालिकाको दैनिक सेवा र विकास निर्माणको काम प्रभावित गर्ने उद्देश्यले पटकपटक प्रशासकीय अधिकृत सरुवा गराएको जनप्रतिनिधिले आरोप लगाएका छन् । सम्सी गाउँपालिकाका अध्यक्ष र कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा महोतरी क्षेत्र नं. ४ बाट निर्वाचित सांसद सुरेन्द्र यादवले गाउँपालिकामा प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रलाई सरुवा गराएर ल्याएको र मिश्रले गाउँपालिकाको काम गर्न खोज्दा डेढ महिना नबित्दै उनको स्थानमा अर्को प्रशासकीय अधिकृत सरुवा गराएर गाउँपालिकाको काम प्रभावित पार्न खोजेको उल्लेख छ ।

मन्त्री र सचिवलाई प्रलोभनमा पारेर सांसद यादवले गैरजिम्मेवार र बदनियतपूर्वक सम्सी गाउँपालिमा सत्यनारायण साहलाई प्रशासकीय अधिकृत बनाउन खोजेको गाउँपालिका अध्यक्ष फारुकले बताए । सरुवा गराइएका साहलाई फिर्ता गरी मन्त्रालय पठाउन माग गर्दै उनीहरूले चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुष २३ गते सरुवा गर्दा २९ गते सम्सीमा हाजिर भएका प्रशासकीय अधिकृत गाणेशचन्द्र मिश्रलाई फागुन १५ गते सरुवा गरी अर्का प्रशासकीय अधिकृत सत्यनरायण साहलाई सम्सीमा पठाएपछि जनप्रतिनिधिले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सांसद एवं पूर्व राज्यमन्त्री सुरेन्द्र यादवको विरोध गर्दै आइतबार सम्सी गाउँपालिकामा तालाबन्दी समेत गरिएको छ ।

यादवले मन्त्रालयबाट आफू अनुकुलका प्रशासकीय अधिकृतलाई गाउँपालिकामा ल्याएर काम प्रभावित पार्न खोजेको अध्यक्ष फारुकको आरोप छ। सम्सी गाउँपालिमा पछिल्लो चार महिनामा चार जना प्रशासकीय अधिकृत फेरिएका छन् । गाउँपालिका प्रमुख फारुकले भने, ‘सांसदको दवावमा मन्त्रालयले महिनैपिच्छे प्रशासकीय अधिकृत सरुवा गरेपछि गाउँपालिकाको विकास निर्माणको काम प्रभावित भएको छ,’ गाउँपालिका अध्यक्ष फारुकले बताए ।

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएयता १२ जना प्रशासकीय अधिकृत फेरिएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्न पटकपटक आग्रह गर्दा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गरेपछि गाउँपालिका अध्यक्ष शेष फारुकले मन्त्रालयलाई विपक्षी बनाएर ०७८ पुस ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतले पुस ७ गते मन्त्रालयको सरुवा बदर गरिदिएको थियो । अन्तरिम आदेश अनुसर मन्त्रालयले सम्सीमा प्रशासकीय अधिकृत पदमा गाणेशचन्द्र मिश्रलाई सरुवा गरेको थियो ।

स्थानीय तहको निर्वाचन घोषण भएपछि धनुषा र महोतरीको स्थानीय तहमा महिनैपिच्छे अधिकृतहरुको सरुवा हुन थालेको छ । धनुषाको हंसपुर नगरपालिका, नगराईन नगरपालिका महोत्तरीको महोत्तरी गाउँपालिका र सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विवाद चर्किएको छ ।

पालिका प्रेस
थप जानकारी