इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले दिगो र सन्तुलित विकाससहित समृद्धिको लक्ष्य पछ्याइरहेको छ । नगरपालिकाले ल्याएको विकास अवधारणाले अन्य स्थानीय तहलाई मार्गदर्शन पनि गरिरहेको छ । स्थानीय जनप्रतिनिधिले यसरी उदाहरणीय काम पनि गर्न सक्दा रहेछन् भन्ने उदाहरण सूर्योदयले प्रस्तुत गरिरहेको छ । नगरपालिकाको  टी टेस्टिङ रिसर्च सेन्टर बनाउने योजना नगरको गौरव मात्र नभई चियाबारे अनुसन्धान गर्नेका लागि  नमुना केन्द्र बन्न पुगेको छ ।

सूर्योदयले विशेषगरी पर्यटन, कृषि र पशुपालनमा ख्याति कमाएको छ । नगरपालिकामा मात्रै ठूलासाना गरी ५ दर्जन चिया प्रशोधन केन्द्र छन् । सूर्याेदयमै उत्पादन भएको चिया देश–विदेशका बजारमा पुग्ने गरेको छ । चिया प्रशोधन कसरी हुन्छ र कसरी बन्छ भन्ने धेरैलाई यहाँ पुगेपछि जिज्ञासा लाग्न सक्छ । नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा नेपालकै पहिलो टी–टेस्टिङ अनुसन्धान एवं प्रवद्र्धन केन्द्र स्थापना गर्ने निर्णय लियो । सिंगो पालिकाकै गौरवको आयोजनाका रूपमा चित्रण गरिएको यो केन्द्र निर्माण भए चियाबारे हरेक प्रश्नको उत्तर पर्यटकले पाउने वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खड्का बताउँछन् ।

प्रदेश सरकारको ७५ प्रतिशत र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा कुल २३ करोड रुपैयाँ खर्च गरेर यो केन्द्र निर्माण सुरु गरिएको छ । प्रदेशमा चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिने प्रदेश सरकारको योजनालाई पूरा गर्न निर्माणाधीन टी टेस्टिङ सफल हुने क्रममा रहेको वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।

यो अनुसन्धान केन्द्रले सूर्योदयको ९० प्रतिशत किसानले गर्दै आएको चिया खेतीका दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । चिया किसान, उद्योगी र बाहिरी जिल्लाबाट आउने पर्यटकलाई समेत चियाबारे बुझ्न सघाउ पुग्ने नगरपालिका प्रमुख रणबहादुर राईको विश्वास छ ।

चियाको टेस्टिङका लागि पाँच वटा भवन निर्माण हुनेछन् । एउटा भवनमा प्रशासन र जानकारी दिने कार्यालय रहनेछ । दोस्रो भवनमा संग्र्रहालय र चियाको परीक्षण भवन रहनेछ भने तेस्रोमा शौचालय र कटेज बनाइनेछ । यस्तै, चौथो भवनमा बैठक बस्ने सभाकक्ष रहनेछ भने पाँचौँमा विदेशी पर्यटकका लागि अतिथि कक्ष रहनेछ । नेपालको चियाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने भए पनि परीक्षण अभावका कारण पछाडि पर्दै आएको थियो । तर, अब अनुसन्धान केन्द्र बनेसँगै समृद्धिको यात्रा र नगरपालिकाले अघि सारेको दिगो विकास लक्ष्य पूरा हुने निश्चित छ ।

पालिका प्रेस
थप जानकारी