महोत्तरीको सम्सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई डेढ महिनामै सरुवा गरिएपछि स्थानीयले तालाबन्दी गरेका छन् । पुस २३ मा सरुवा भएर पुस २९ मा सम्सीमा हाजिर भएका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रलाई सरुवा गरी फागुन १५ मा सत्यनारायण साहलाई प्रशासकीय अधिकृत बनाइएकामा स्थानीयले आइतबारदेखि गाउँपालिका कार्यालयमा ताला लगाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै सरुवा गरेर पठाएका अधिकृत मिश्रलाई प्रतिनिधिसभा सांसद सुरेन्द्र यादवले सरुवा गराइदिएको भन्दै स्थानीय आन्दोलित भएका गाउँपालिका अध्यक्ष शेष फारुकले बताए । यादवले मन्त्रालयबाट आफूअनुकूलका प्रशासकीय अधिकृत साहलाई गाउँपालिकामा ल्याएको स्थानीयको भनाइ छ । योसँगै गाउँपालिकामा पछिल्ला ४ महिनामा ४ पटक प्रशासकीय अधिकृत फेरिएका छन् ।

‘सांसदको दबाबमा प्रशासकीय अधिकृत फेरिरहँदा गाउँपालिकाको विकास निर्माणको काम प्रभावित भएको छ,’ फारुकले भने । गाउँपालिकाको कार्यपालिका बैठकले अधिकृत सरुवा नगर्न मन्त्रालयलाई आग्रह गरेको उनले बताए । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएयता १२ जना प्रशासकीय अधिकृत फेरिएका छन् ।

संघीय मामिला मन्त्रालयले सरुवा गरेका कर्मचारीले आवश्यक जानकारी लिइसकेर काम गर्न थालेपछि राजनीतिक दबाबमा सरुवा गर्ने गरिएको कार्यपालिका बैठकले निष्कर्ष निकालेको छ । प्रमुख प्रशासकीय अधिकृत सरुवा नगर्न पटकपटक आग्रह गर्दा पनि मन्त्रालयले कर्मचारीको सरुवा गरेपछि अध्यक्ष फारुकले मन्त्रालयलाई नै विपक्षी बनाएर गत पुस ५ मा सर्वोच्च अदालतमा रिट हालेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुस ७ मा मन्त्रालयको सरुवासम्बन्धी निर्णय बदर गरेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशअनुसार मन्त्रालयले सम्सीमा प्रशासकीय अधिकृतमा गणेशचन्द्र मिश्रलाई सरुवा गरेको थियो । धनुषाको हंसपुर नगरपालिका, नगराइन नगरपालिका र महोत्तरीको महोत्तरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बारम्बार फेरिएको भन्दै विवाद चर्केको छ ।

पालिका प्रेस
थप जानकारी