राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका पहिलो भएको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी ६९ दशमलव ३१ अंक ल्याएर सानीभेरी गाउँपालिका पहिलो भएको हो ।

संविधानबमोजिम संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान, आर्थिक वर्ष ०७९/८० मा प्राप्त गर्न प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ ले निर्धारण गरेका १७ वटा सूचकको आधारमा गरिएको मूल्यांकनमा अन्य पाँच पालिकालाई उछिन्दै सानीभेरी जिल्लाकै पहिलो बनेको हो ।

त्यस्तै, ६८ दशमलव १७ अंक ल्याएर चौरजहारी नगरपालिका दोस्रो भएको छ भने बाँफीकोट गाउँपालिका ६३ दशमलव ५० अंक ल्याएर तेस्रो भएको छ । मुसीकोट नगरपालिका ५६ दशमलव ४४, त्रिवेणी गाउँपालिका ५४ दशमलव ५० र आठबिसकोट नगरपालिकाले सबैभन्दा कम ५२ दशमलव ९२ अंक प्राप्त गरेर अन्तिम स्थानमा रहेको छ ।

‘कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ ले निर्धारण गरेका १७ वटा सूचकको आधारमा गरिएको मूल्यांकनका सूचकअनुसार कार्य गर्दा परिणाममुखी नतिजा पाएका छौँ’, सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपालसिं विष्टले भने, ‘जनप्रतिनिधि र कर्मचारीको लगनशीलताका कारण सन्तोषजनक नतिजा ल्याउन सफल भएका छौँ ।’ आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक सार्वजनिक गरेको छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी