झापाको अर्जुनधारा नगरपालिकाले एकीकृत कृषि प्रणाली अवलम्बन गरेरै किसानलाई कृषि उत्पादनमा लाग्न प्रेरित गरिरहेको छ । विगत वर्षमा परम्परागत खेती प्रणालीका कारण नगरपालिकाले अपेक्षाअनुसार कृषि उत्पादनबाट लाभ लिन सकिरहेको थिएन । अवरोधका रूपमा रहेका कृषि क्षेत्रका समस्यालाई हटाएर कृषिबाटै समृद्धि ल्याउन सकिने योजनाअनुसार अगाडि बढेका जनप्रतिनिधिका कारण अर्जुनधारा नगरपालिकाले कृषि क्षेत्रमा फड्को मारेको छ ।

अर्जुनधारा नगरपालिका कृषि तथा वनजंगलमा आधारित वस्तु उत्पादनमा अग्रणी छ । नगरपालिकाको प्रमुख उत्पादन धान हो । मकै र गहुँ बालीको उत्पादन पनि राम्रै हुने गरेको छ । मानवीय श्रम अभाव, पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषि उत्पादनमा नगरपालिकाले सोचेअनुसारको उपलब्धि हासिल गर्न सकेको थिएन । तर, जनप्रतिनिधिको स्पष्ट नीति र योजनाले परम्परागत खेती प्रणाली विस्थापित भएर व्यावसायिक कृषि खेती सुरु भएको छ । सबै वडालाई पकेट क्षेत्रका रूपमा विकास गरेर कृषिमा आत्मनिर्भर बनाउने क्रम चलिरहेको छ । नगरको वडा नम्बर ९ लाई तरकारी पकेट र वडा नम्बर १० लाई मकै पकेट क्षेत्रका रूपमा विकास गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख उर्मिला राजवंशी बताउँछिन् ।

नगरपालिकाले साना किसानका लागि बिउबिजन तथा कृषि औजारमा अनुदान दिने गरेको छ । नगरपालिकाले विविध बालीका बिउबिजन किसानलाई निःशुल्क वितरण गर्दै आएको नगरपालिकामा रहेको महिला कृषि सहकारी संस्थाकी सचिव कल्पना खत्रीले जानकारी दिइन् । नगरपालिकाले पाँच वर्षमा किसानलाई मिनीटिलर तथा थे्रसर, मल्चिङ प्रविधि अनुदान, थोपा सिँचाइ कार्यक्रम, जैविक विषादी उत्पादन तालिम, ड्रम अनुदान, गँड्यौला अनुदान तथा उत्पादन केन्द्र स्थापना, प्रांगारिक मल उत्पादन तथा अनुदान, प्लास्टिक टनेल अनुदानमा वितरण गरेको छ ।

नगरपालिकाले कृषिमा स्थानीय प्रजातिका बाली, लहरे खेती तथा धान, मकै, आलुको बीउविजन उत्पादन गर्ने नीति बनाएको छ । प्याज, लसुनको व्यावसायिक खेती तथा बेमौसमी तरकारी खेती प्रवद्र्धन गर्ने योजनाअनुसार काम भइरहेको छ । नगरपालिकामा सुपारी र उखु तथा नगदे खेतीको प्रवद्र्धन हुन थालेको छ । ‘एक घर, एक करेसावारी’, ‘एक घर, एक बिरुवा’, ‘एक कुडार, एक अनार’ जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाले तरकारी तथा अन्नबालीमा विषादी र रासायनिक मल प्रयोग घटाएर अर्गानिक उत्पादनमा जोड दिँदै आएको नगरप्रमुख हरिकुमार रानाले बताए ।

नगरपालिकाले रासायनिक मल र विषादीको विकल्पस्वरूप बेलाबेलामा किसानलाई प्रांगारिक मल र जैविक विषादी बनाउन तालिम दिने गरेको छ । किसानलाई आवश्यकताअनुसार सामग्री पनि उपलब्ध गराइँदै आएको छ । नगरपालिकाले ५ वर्षमा साढे २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ । नगरले गरेको सहयोगका कारण किसानको आम्दानीमा वृद्धि भएको छ । खेती किसानी गरेरै छोराछोरी पढाउन र घर खर्च चलाउन किसान सक्षम भएको नगरपालिकामा रहेको महिला कृषि सहकारी संस्थाकी सचिव कल्पना खत्रीको दाबी छ । नगरपालिकाको कृषि तथ्यांक संकलन, प्रकाशन गरी कृषि सहकारी, एग्रोभेट, सरोकारवाला संस्थालाई सूचीकृतसमेत गरेको छ । यसरी सूचीकृत भएका समूह तथा उत्कृष्ट किसानलार्ई पुरस्कृत गर्ने गरिएको छ । प्रदेश सरकारको सहयोगमा कृषि तथा पशु बजारका लागि भवनसहितका पूर्वाधार तयार भएका छन् ।

पालिका प्रेस
थप जानकारी