इलामको रोङ गाउँपालिकाले पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ र ४ का पहिरोपीडितलाई आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाले १३ घरपरिवारलाई प्रतिघर १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा ०६८ देखि पहिरो जान थालेको थियो । ०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो ।पहिरोपीडित घरपरिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पालिका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

पहिरोबाट विस्थापित यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टंक बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगरलगायतका परिवारलाई प्रतिपरिवा १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

पहिरोपीडितलाई घर–जमिन व्यवस्थापन गर्न रकम दिइएको गाउँपालिका अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार ०७४ मा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आउँदादेखि नै चुरे र जोखिम क्षेत्रको रोकथामका साथै नियन्त्रण गर्न पहल भइरहेको छ ।

गाउँपालिकाले मात्र नसक्ने भएर प्रदेश र संघीय सरकारसमक्ष समेत सहयोगका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए । प्रदेशबाट यसअघि १० लाख रुपैयाँ विनियोजन भएर पहिरोको फेदमा बाँध बाँध्ने काम अगाडि बढेको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी