धनकुटाको चौबिसे गाउँपालिकाले आफ्नो ५ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको छ । पालिकाले नवनिर्मित प्रशासनिक भवन उद्घाटन, जग्गादातालाई सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरी ५ वर्षे उपलब्धि सार्वजनिक गरेको हो । कार्यक्रममा पालिका अध्यक्ष खजिन्द्र राईले गाउँपालिकालाई पद्धतिमा सञ्चालन गर्न ५० वटा ऐन, कार्यविधि, निर्देशिका, नियमावली र विनियमावली बनाइएको जानकारी दिए ।

राईले सार्वजनिक गरेको तथ्यांकअनुसार हरेक टोल र वडामा सडक सुविधाको पहुँच पुगेको छ । पालिकाले महत्त्वपूर्ण ३ ठूला सडक लाप्से–कुरुले फलामेटार, राजारानीबोधे–हङ्समोरङ र धाराचौक– अठारसय कुरुले सडक निर्माण तथा स्तरोन्नति गरेको छ । वडा स्तरका सडक तथा पालिका हुँदै अन्तरजिल्ला जोड्ने सडक विस्तार तथा स्तरोन्नति गरिएको छ ।

त्यस्तै, भौतिक संरचनातर्फ भूकम्प प्राधिकरणसँगको समन्वयमा ४५ वटा विद्यालय भवन, १५ शौचालय, १० खोप केन्द्र, ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण गरिएको छ । पालिकाले प्रशासनिक भवन, जनजाति संग्रहालय, मगर जातिको संग्रहालय, सामुदायिक भवन, न्यायिक समितिको भवन, कभर्ड हल, नमुना विद्यालय भवन, विभिन्न चर्च निर्माण तथा मर्मतसंभार, १ झोलुंगे पुल निर्माण तथा २ निर्माणाधीनसहित १७ महत्त्वपूर्ण काम गरेको छ ।

स्वास्थ्य तथा सरसफाइतर्फ १२ वटा स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गरिएको छ भने ५ वटा स्वास्थ्य संस्थामा ल्याब, ४ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । राजारानी स्वास्थ्य चौकीलाई १० शय्याको अस्पतालमा स्तरोन्नति गरिएको, विभिन्न स्वास्थ्य संस्थालाई आवश्यकताअनुसार स्वास्थ्य उपकरण तथा दरबन्दीको व्यवस्था, १० देखि ५० प्रतिशतसम्म छुटमा एम्बुलेन्स सेवा, अपांगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ ।

गर्भवती महिलालाई पोषिलो खाना तथा विभिन्न स्वास्थ्य सेवा, नागरिकलाई निःशुल्क औषधी वितरण, विभिन्न स्वास्थ्य शिविर सञ्चालन, स्वयंसेविकालाई प्रोत्साहनलगायत विभिन्न ३६ शीर्षकमा कार्यक्रम सम्पन्न गरिएका छन् । पालिकाको सबै वडामा इन्टरनेट सेवा विस्तार गरिएको र पालिका तथा वडाका राजस्वका काम अनलाइनमार्फत सञ्चालन गरिएका छन् । अध्यक्ष राईका अनुसार सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको व्यवस्था गरिएको छ । सामाजिक विकासतर्फ दलित तथा माझी बस्तीमा बन्न लागेका ४६ मध्ये १० वटा घर सम्पन्न भएको र ३६ वटा निर्माणको चरणमा रहेका छन् ।

पालिकाका १ हजार ५ सयभन्दा बढी विपन्न घरधुरीलाई जस्तापाता वितरण गरिएको छ भने १३९ जनालाई सोलार वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, विभिन्न सीप तथा उद्यमशीलता तालिम, विभिन्न राहत तथा खाद्यान्न वितरणलगायत ३८ शीर्षकमा पालिकाले काम गरेको छ । शैक्षिक क्षेत्रमा पालिकाले सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरेर ९० प्रतिशतभन्दा बढी सफलता हासिल गरेको छ । सबै विद्यालयमा इन्टरनेट र कम्प्युटर, फोटोकपी आदिको व्यवस्था, निजी तथा सामुदायिक विद्यालयमा पाठ्यक्रमको एकरूपता कायम गरिएको छ । खानेपानी व्यवस्थापनका लागि प्रदेश सरकारको समन्वयमा कुरुले, बोधे, बुधुकमा ठूला लिफ्टिङ खानेपानी आयोजना सम्पन्न हुने चरणमा रहेको अध्यक्ष राईले जानकारी दिए । खानेपानी मुहान संरक्षण तथा खानेपानी पाइप मर्मत तथा सबै वडामा आवश्यकताअनुसार पाइप वितरण गरिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा ३६ किसानलाई मिनिटिलर, ५ सय जनालाई प्लास्टिक टनेल, १२ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन् भने पालिका र प्रदेशको कार्यक्रमअन्तर्गत ४२ जनालाई पशुपालनमा अनुदान दिइएको छ । २६ सय घरलाई विषादी वितरण तथा करिब २५ हजार हाराहारी किबी, एभोकाडो, सुन्तला, ओखर, कागतीलगायत बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले पर्यटन विकासका लागि पालिका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको डिपिआर तयार गरेको छ भने पालिकाकै सबैभन्दा ठूलो आयोजनाअन्तर्गत वडा नम्बर २ मा रहेको धप्पडताल निर्माण सुरु गरेको छ । वडा र पालिका स्तरीय मेलमिलाप केन्द्र स्थापना गरेर पालिकाको न्यायिक समितिले आफ्नो कार्यकालमा १४१ वटा मुद्दा फस्र्याेट गरेको छ । यसलाई थप व्यवस्थापनका लागि पालिकाले न्यायिक समितिको भवन निर्माण अन्तिम चरणमा पु-याएको छ ।

एक वडा एक खेल मैदान कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न ५ वटा वडामा खेल मैदान निर्माण गरेको छ । विपद्मा परेर क्षति भएका ४२१ जना घरपरिवारलाई खाद्यान्न, विपद्मा परेका ३० घरलाई जस्तापाता वितरण तथा कोरोनाबाट मृत्यु भएका र अन्यमा मानवीय क्षति भएका ११ परिवारलाई आर्थिक सहयोग गरिएको छ । पालिकाले ५ वर्षे अवधिमा १६५० महिला र ८०२१ महिला गरी कुल ९६७१ जनालाई रोजगार दिएको छ । पालिकाले १ अर्ब १ करोड ८७ लाख बराबरको रकम खर्चेर नागरिकका ३९७ घर पुनर्निर्माण गरिरहेको छ ।

कार्यक्रममा संघीय सांसद राजेन्द्रकुमार राई, प्रदेश सांसद बिनादेवी राई, पालिका अध्यक्ष राई, उपाध्यक्ष यज्ञकुमारी रुचालले संयुक्त रूपमा पालिकाको नवनिर्मित भवन उद्घाटन गरे । २ करोड ३४ लाख ७६ हजार रुपैयाँ लागतमा निर्मित भवन तथा पालिकाका लागि साढे ६ रोपनी जमिन दान गर्ने ८ परिवारलाई कार्यक्रममा सम्मान गरियो ।

पालिकाले नमुना विद्यालय पुण्य उच्च माविको कक्षा ११ र १२ मा होटल व्यवस्थापन र विज्ञान विषयमा अध्ययनरत २० छात्रछात्रालाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ । पालिकाले आव ०७८/७९ को बजेटबाट होटल व्यवस्थापनमा अध्ययनरत ७ जनालाई ४० हजारका दरले र विज्ञान संकायमा अध्ययनरत १३ जनालाई जनही ३० हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरेको छ ।

पालिकाले आव ०७७/७८ को बजेटबाट वडा नम्बर ६ को बुधबारेमा रहेको शारदा माविमा सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत कक्षा ९ र १० का ८ जना छात्रछात्रालाई जनही १८ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको पालिका उपाध्यक्ष रुचाल र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताए ।

पालिका प्रेस
थप जानकारी