मकवानपुरको मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा दुई दिने प्रांगारिक कृषि उत्पादन प्रमाणीकरणका लागि सहभागीतामूलक गुणस्तर निर्धारण पद्वती अभिमुखीकरण तालिम भएको छ । मकवानपुरगढी गाउँपालिका वडा न २ पौवाडाँडामा २३ र २४ चैतमा तालिम भएको हो ।
पौवाडाँडा कृषक समूहमा आवद्व कृषकहरुलाई प्रांगारिक कृषि उत्पादन र प्रमाणीकरण सम्बन्धिको विधि र प्रक्रियाको बारेमा तालिम दिइएको थियो । पालिकाको २ नम्बर वडाका अधिकांश कृषकहरु परम्परागत रुपमा गोठेमल र पशुमुत्रको प्रयोग गरि उत्पादन गर्दै आईरहेको र थोरै मात्रामा रसायनिक मलको प्रयोग भईरहेको अवस्थामा प्रांगारिक खेतीलाई अझ व्यवस्थित बनाउन कृषकहरुलाई संगठित बनाई संस्थागत रुपमा प्रांगारिक उत्पादन संगै प्रमाणीकरण गर्ने, गराउने लक्ष्य पालिकाको रहेको छ ।
तालिममा सैद्वान्तिक पक्ष साथसाथै प्रांगारिक उत्पादनको व्यवहारिक पक्षलाई समेटेर तालिम प्रदान गरिएको थियो । तालिममा सहभागी २० जना कृषकहरु करिब २ विघा जग्गामा अहिलेकै सिजनबाट प्रांगारिक खेतीको सुरुवात गर्ने प्रतिवद्वता जनाएका छन् । उक्त जग्गामा लगाईने बालीहरुमा विभिन्न तरकारी, मकै, कोदो, अदुवा, बेसार लगायतका बालीहरु छनौट गरिएको छ ।
मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाको सभाध्यक्षता तथा २ न का वडाध्यक्ष बखान सिं पाख्रिनको आतिथ्यतामा शुभारम्भ भएको तालिम किसानहरुको खेतवारीको स्थलगत अवलोकन गर्दै समापन गरिएको हो ।
तालिमको क्रममा पिजिएस व्यवस्थापन समिति गठन सहित प्रांगारिक कृषि उत्पादन कार्यको सुरुवात गरिएको हुंदा यस क्षेत्रमा लाग्नुभएका कृषक, विज्ञ, विद्यार्थी, अनुसन्धानकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरु संग सल्लाह, सुझावको अपेक्षा गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्