मकवानपुर थाहा नगरपालिकाका एमआइएस अपरेटर लक्ष्मण कण्डेल, तथ्याङ्क शुद्धिकरण सम्बन्धी कार्य गर्दै । फोटोः पालिका प्रेस

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकी सुन कुमारी दोङ सामाजिक सुरक्षा भत्ताको लाभग्राही थिइन् । उनको २०७८ जेठ ११ गते मृत्यू भयो । पूर्ण अपाङ्गता जीवन बिताउँदै आएकी सुन कुमारीको मृत्यू भएपछि परिवारले असार ११ गते वडाका कार्यालयमा मृत्यू दर्ता गरे ।

आर्थिक वर्ष २०७७/०७८ को अन्तिम किस्ताको भत्ता रकम पाउने थाहा पाएपछि उनका परिवारले मृत्यू दर्ता गरेको ४ महिनापछि वडामा निवदेन दिए । लाभग्राही परिवारको निवेदन अनुसार वडा अध्यक्ष किरणमान बलले पालिकामा नियमानुसार भत्ता दिन सिफारिस गरे । वडा कार्यालयबाट कात्तिक २८ गते भत्ता भुक्तानीको लागि पालिकामा सिफारिस भएको हो । वडा कार्यालयले मृत्यु दर्ता भएपछि त्यहि दिन मृत्यु मितिदेखि लागू हुने गरी सुन कुमारीको सामाजिक सुरक्षा भत्ता प्रणालीबाट लगत कट्टा गरेको छ । चौमासिकको शुरुवातीदेखि मृत्यु मितिसम्मको भत्ता रकम दिन पालिकाले बैंकलाई सिफारिस गरेको एमआइएस सेवा इकाइका अपरेटर लक्ष्मण कण्डेलले बताए ।

थाहा नगरपालिका कार्यालय, मकवानपुर ।

एमआइएस अपरेटर लक्ष्मण कण्डेल भन्छन्–‘मृत्यु हुने लाभग्राहीको बाँकी अवधिको मात्र भत्ता भुक्तानी गर्ने थाहा नगरपालिकाको अभ्यास यहि हो ।’ उनले मृत्यू भएको अर्का लाभग्राहीको भुक्तानी प्रक्रिया सुनाउँदै भने –‘थाहा वडा नम्बर ९ की ज्येष्ठ नागरिक लाभग्राही सरस्वती लामिछानेको २०७८ वैशाख २९ गते मृत्यू भयो । मृत्यू भएको नौ महिनापछि माघ १६ गते बल्ल मृत्यू अघिको सामाजिक सुरक्षा भत्ताको लागि सिफारिस भई पालिकामा आएको छ । मृतक लाभग्राहीको भदौ २१ गते मृत्यु दर्ता भएको वडा कार्यालयमा अभिलेख छ ।

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको एमआइएस सेवा इकाइमा तथ्याङ्क शुद्धिकरण सम्बन्धी कार्य हुँदै ।

‘नियमानुसार यो अवस्थामा पहिलो आर्थिक वर्षको अन्तिम किस्ता र चालु आर्थिक वर्षको पहिलो र दोस्रो किस्ताको भत्ता बैंक पठाइसकेको हुन्छौं’ अपरेटर कण्डेलले भने–‘जनप्रतिनीधिलाई त गाउँघरमा कस्को मृत्यु भयो भन्ने थाहा हुन्छ त्यहीबेला प्रतिनीधिहरुले समयमै घटना दर्ता गर्न प्रोत्साहन गरे यस्तो समस्या आउँदैनथ्यो ।’ तर, मृतकको आफन्तलाई नगरपालिकाको सिफारिसबिना भत्ता झिक्न नपाउने बाध्यकारी व्यवस्था गरेपछि बाँकी पैसा सहजै संघीय संचित कोषमा फिर्ता ल्याउने गरेका छौं’– कण्डेलले भने ।

पालिकाहरुमा समयमै मृत्यु दर्ता नगर्ने एउटा समस्या छ भने सामाजिक सुरक्षा भत्ता प्रणालीमा दोहोरो अभिलेख दर्ता गर्ने अर्को चुनौतिको विषय भएको थाहा नगरपालिकाका एमआइएस अपरेटर रुपक कार्कीले बताए । थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा एकै लाभग्राहीले भत्ताको लागि निवेदन दिएको उदाहरण पेश गर्दै अपरेटर कार्कीले भने–‘पहिले वडा नम्बर ८ बाट सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राही अक्कल बहादुर मुक्तानको आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर ७ मा पनि प्रणालीमा अभिलेख दर्ता भेटियो ।’ सबै कागजात भिडाउँदा उनको घर वडा नम्बर ७ मै भएको पाइएको छ, कार्कीले भने । यो थाहा पाएपछि वडा नम्बर ७ को प्रणालीमा इन्ट्री भएकै समयदेखि उक्त वडाको भत्ता फिर्ता गराइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वेभसाइटमा सार्वजनिक गरेको तथ्याङ्क ।

प्रणाली मार्फत भुक्तानीका लागि गएको रकम शुन्य बनाएपछि पुनः ७ नम्बर वडाकै परिचयपत्र सक्रिय गराइ ८ नम्बरकोलाई निष्क्रिय गराइएको उनले बताए । मुक्तानको मतदाता परिचयपत्र भने वडा नम्बर ८ मा रहेको निर्वाचन कार्यालयको अभिलेख छ । नागरिकको परिचय खुल्ने कागजात बनाउँदाको बेला ख्याल नगर्दा सामाजिक सुरक्षा भत्ता वितरणमा निकै समस्या हुने गरेको अपरेटर कार्कीको अनुभव छ ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली अनलाइनमा संचालन गर्नु सामान्य भएको र यसको शद्धिकरण भने अबको चुनौतिको रुपमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । यसका लागि थाहा नगरपालिकामा मासिक रुपमै भत्ता वितरण गर्ने बैंक, एमआइएस सेवा इकाइ र सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाबीच बैठक हुने गरेको छ ।

बैठकले देखिएका समस्यहरुलाई समाधान गर्न सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना स्थानीय समन्वय समित समक्ष अनुरोध गर्ने गरिएको छ । कतिपय शंकास्पद लाभग्राीको ‘घर भिजट’कै पनि कार्यक्रमको शुरुवात गरिएको पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख सुरज कुमार भुजेलले बताए । यसले तथ्याङ्क शुद्धिकरणमा महत्वपूर्ण सहयोग पुग्ने भुजेलको विश्वास छ ।

थाहा नगरपालिकामा मृत्यू, बसाईसराई, दोहोरो दर्तालगायतका गरी ४ सय ७९ जनाको लगतकट्टा भएको प्रणालीमा अभिलेख छ । अभिलेख अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ सय २० जना, आर्थिक वर्ष २०७५/०७६ मा ९३ जना, आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७ जना र आर्थिक वर्ष २०७७/०७८ मा १ सय ५९ जनाको लगत कट्टा भएको छ ।

पालिका प्रेस
थप जानकारी