मकवानपुर थाहा नगरपालिकाको आयोजनामा पालिका अन्तर्गतका कर्मचारीहरुलाई एकदिने क्षमता अभिवृद्धि तालिम भएको छ । पालिकाले आन्तरिक नियन्त्रणलाई व्यवस्थित बनाउने उद्देश्यले संचालनमा ल्याउन लागेको प्रणाली र त्यसंग सम्बन्धीत अन्य प्राविधिक ज्ञानको विषयमा तालिम दिएको हो ।

थाहानगरको नयाँगाउँमा रहेको साहारा रिसोर्टमा भएको तालिममा थाहा नगरपालिकाका विभिन्न महाशाखा, शाखाका प्रमुख र वडा सचिवहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरूलाई थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सूचना प्रविधि शाखा प्रमुख भगिरथ कार्की, सूचना शाखा प्रमुख सुरजकुमार भुजेलले सहजीकरण गरेका थिए । सहभागीहरुले प्रणाली लगायत कार्यालयको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन गर्नुपर्ने नयाँ सोचहरुको विषयमा समेत छलफल गरेका थिए ।

थाहा नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत (आठौं) माधव विक्रम मल्लको सभाध्यक्षतामा भएको कार्यक्रमको समापनको अवसरमा सहभागीहरुको तर्फबाट थाहा नगरपालिका महिला, बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान र १० नम्बर वडा सचिव चक्र बहादुर ठगुन्नाले मन्तव्य व्यक्त गरेका थिए । सहभागीहरुले तालिमलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे । सहभागीहरुले पालिका र तिनका वडाहरुबाट सम्पादन हुने कार्यलाई थप निखारता ल्याउन तालिमले सहयोग गरेको बताउँदै यस्ता कार्यक्रमको निरन्तरताको कामना गरे ।

सभाध्यक्ष समेत रहेका मल्ले तालिमले कर्मचारीको लागि उत्साह थपेको बताए । उनले कर्मचारीहरूबीच यस्तो कार्यक्रम संचालन गर्दा एक आपसमा सिक्ने र सिकाउने बानीको विकास भई सेवा प्रवाहलाई प्रभावकारी हुने बताए ।

पालिका प्रेस
थप जानकारी