नेकपा एमाले थाहानगरले खेतीपातीको समयमा हुने मल, बीउको अभाव हुन नदिन विशेष व्यवस्था गर्नुका साथै उत्पादन लागत घटाई उचित बजारीकरणसहित बढी नाफामुलक कृषि व्यवसायको विकास गर्न तथा गरिव किसानहरुसम्म सरकारी सेवा तथा सुविधाको पहुँच पु¥याउने जनाएको छ । एमाले थाहानगरले सार्वजनिक गरेको स्थानीय तह सदस्य निर्वाचनको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो । थाहानगरका राजकुलोहरुको संरक्षण एवम् व्यवस्थापन, ‘आकासे खेती’ को विकल्पमा आवश्यक मात्रामा कुलो तथा लिफ्ट सिँचाइ प्रविधिको विकास र आधुनिक कृषि प्रणालीअन्तर्गत थोपा सिँचाइ प्रविधिमा अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

थाहा नगरपालिकामा अनुदान तथा वितरणमुखी कृषि प्रणाली संस्कृतिको विकास हुँदै गइरहेकोमा सर्वसाधारण कृषकहरुको समेत पहुँच पुग्नेगरी उत्पादन तथा बजार केन्द्रित कृषि प्रणालीको विकास गर्ने प्रतिवद्धता रहेको नगर प्रमुखका उमेद्वार अच्युतम प्रसाद ढकालले बताए । थाहानगरको आधार कृषि, पर्यटन र पूर्वाधार भन्ने नारा तय गरिएको भए पनि कृषि क्षेत्रको समुचित विकास हुन नसकेको अवस्था उललेख गर्दै एमालेले नगरका १२ वटै वडामा कृषक उत्तरदायी कृषि प्राविधिकको व्यवस्था गरिने जनाएको छ ।

थाहा नगरको किटेनीलाई गाँजर उत्पादन क्षेत्र, बज्रवाराहीलाई काउली उत्पादन क्षेत्र, जगडाँडालाई पिँडालु उत्पादन क्षेत्र, टिस्टुङलाई काँक्रो उत्पादन क्षेत्र भएजस्तै भेग, टोल तथा वडा अनुसार विशेष उत्पादन क्षेत्र घोषणा गरी सोहीअनुसार कृषि विकासको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । माटो परीक्षण प्रयोगशालाको स्थापना स्थापनाको साथै नगरपालिकाको तर्फबाट आवश्यक कृषि चुन निःशुल्क वितरण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

साना तथा पहुँचविहिन कृषकहरुले नगरपालिका तथा अन्य सरकारी निकायबाट प्राप्त गर्ने अनुदान तथा अन्य सुविधाहरु पाउन नसकिरहेको गुनासोको पूर्ण सम्बोधन गर्ने समेत आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरिएको ढकालले बताए । उत्पादनमा कम लागतका निम्ति आधुनिक नर्सरीहरुको स्थापनामा नगरपालिकाको तर्फबाट प्रोत्साहन रकम उपलब्ध गराइने र एक घर एक नर्सरी टनेल कार्यक्रमलाई प्राथमिता दिइने एमालेको प्रतिवद्धता छ ।

कृषि उपजको उचित बजारीकरणका लागि सामुहिक तथा सहकारी बजार प्रणालीलाई व्यवस्थित बनाइने, उत्पादक र उपभोक्ताको मूल्य कम गर्न र गुणस्तर दुरुस्त गर्न विशेष प्रणालीको विकास गरिने तथा अगामी ५ वर्षभित्र थाहा नगरलाई दूध, मासु तथा अण्डामा आत्मनिर्भर बनाउने नेकपा एमाले थाहानगरको प्रतिवद्धता छ ।

बाली संरक्षण तथा खाद्य सुरक्षामा उचित योजना बनाई कार्यान्वयन गरिने, आगामी आर्थिक वर्षबाटै थाहा–३ मा निर्माण हुँदै गरेको शीत भण्डार सञ्चालनमा ल्याउनुका साथै नगरमा रहेका शीतभण्डार तथा रस्टिक हाउसहरुको व्यवस्थापनमा विशेष योजना ल्याइने उमेद्वार ढकालले बताए । भूगोल तथा माटो सुहाउँदो फलफूूल खेतीलाई प्राथमिकताका साथ अनुदान दिने एमाले थाहानगरको चुनावी प्रतिवद्धता रहेको छ ।

पालिका प्रेस
थप जानकारी