मकवानपुर थाहा नगरपालिकामा करोडौंको विकास योजना भित्रिएको छ । संघीयता घोषणासंगै निर्वाचित पहिलो जनप्रतिनीधिहरुको समयावधि सकिनै लाग्दा विकास योजनाहरु भित्रिएको हो । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत कार्यान्वयन हुने गरी सघन सहरी विकास कार्यक्रमको लगानी निरन्तरता सम्बन्धी अवधारणामा उल्लेख भए बमोजिम थाहानगरमा योजनाहरु स्वीकृत भएका हुन् ।

थाहा नगरपालिकाका तत्कालिन नगर प्रमुख लवशेर विष्टको विशेष उपस्थितीमा सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका आयोजना प्रमुख प्रकाश अर्याललगायत कार्यविधि बमोजिमका सदस्यहरु सम्मिलितको बैठकबाट योजना प्रस्ताव गरिएकोमा बजेट स्वीकृत भएको थाहा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका योजनाहरु मध्ये सबैभन्दा बढि कुन्छाल कुलेखानी सडकका लागि २५ करोड रुपियाँ बजेट स्वीकृत भएको छ । त्यस्तै थाहा बसपार्कको लागि ७ करोड बजेट रहेको छ । चित्लाङको खर्क कपुगाउँ सडकका लागि ५० लाख, देउराली बज्रवाराही सडकका लागि ५० लाख, थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन थाहा पार्कका लागि ३ करोड रुपियाँ बजेट स्वीकृत भएको हो ।

त्यसैगरी दामन डाँडाबास सडक मर्मतका लागि ३ करोड ५० लाख रुपियाँ, महादेवस्थान भाङखोरिया सडकका लागि १ करोड ५० लाख रुपियाँ, चिसापानी देउखेल चल्ती बसेरी सडकका लागि २ करोड, ऋषेश्वर ध्यान केन्द्र निर्माणका लागि २ करोड, नौखण्डे जगडाँडा सडक स्तरोन्नतीका लागि २ करोड बजेट स्वीकृत भएको थाहा नगरपालिकाका निवर्तमान नगर प्रमुख लवशेर विष्टले बताए ।

थाहा नगरको पूर्वाधार विकासका लागि एकैपटक यति धेरै बजेट भित्रनू पालिकाको लागि ठूलो उपलब्धी भएको निवर्तमान नगर प्रमुख विष्टले बताए । आफ्नो व्यक्तिगत व्यस्थताको कारण बताउँदै २२ वैशाखमा पदबाट राजिनामा दिएका विष्टले थाहानगरमा शहरी विकास मन्त्रालय अन्तर्गतबाट योजना स्वीकृत तथा बजेट विनियोजनका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । योजना छनोट र बजेट विनियोजनमा महत्वपूर्ण योगदान दिएको बताउँदै शहरी विकास मन्त्री रामकुमारी झाँक्री आम थाहा  नगरबासीको धन्यवादको पात्र सावित भएको विष्टको भनाइ छ । ‘मकवानपुर प्रतिनीधि सभा सदस्य विरोध खतिवडाले योजना स्वीकृत तथा बजेट विनियोजनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नु भयो, उहाँलाई यस क्षेत्रका बासिन्दाले कहिल्यै विर्सने छैनन्’– विष्टले भने–‘स्वीकृत बजेटको बोलपत्र आव्हानका लागि इस्टिमेट तयारी अन्तिम चरणमा पुगेको छ ।’

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले समयमै काम सक्ने विश्वास व्यक्त गर्दै उनले आयोजनाका कर्मचारीहरुप्रति योजना छनोट र स्वीकृतमा उल्लेखनीय सहयोग गरेकोमा आभार व्यक्त गरे । छनोट भएका योजनाहरुको बहुवर्षे बोलपत्र आव्हान हुनेछ ।

पालिका प्रेस
थप जानकारी