मकवानपुर थाहा नगरपालिकाको १२ मध्ये ४ वटा वडामा नेकपा माओवादी केन्द्रले अध्यक्षसहित विजय हासिल गरिसकेको छ । २०७९ को स्थानीय तह सदस्य निर्वाचनमा थाहाको ६२ जनप्रतिनीधि मध्ये २० जना माओवादीकै उमेद्वार निर्वाचित भैसकेका छन् । माओवादीले ४ वटा वडामा मेस्सैसंग जित्दै गर्दा एकजना पुराना अनुहारका अध्यक्ष निर्वाचित छन् भने तीन नयाँ अनुहार हुन् ।
वि.सं. २०७४ सालमा भने चार वडामा १९ जनप्रतिनीधि हात पारेको माओवादीले २०७९ मा वडा नम्बर २ को वडा अध्यक्ष पनि जितेको छ । यसअघि वडा नम्बर २ मा चारजना सदस्य मात्र जितेर अध्यक्ष पदमा माओवादी पराजित भएको थियो ।
वि.सं. २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा वडा नम्बर १ मा हेरमान गोपाली ५ सय ५६ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका धर्म प्रधानले ५ सय २७ मत पाएका थिए । गोपालीले ०७४ को चुनावमा २९ मतले एमालेलाई पछि पारेका थिए । उनै उमेद्वार गोपालीले यस पटकको चुनावमा भने आफ्नो प्रभाव बढाउँदै ८८ मतान्तरले एमालेका प्रदीप प्रधानलाई पराजित गरेका छन् । प्रधानले ७ सय ७५ मत मात्र पाएका थिए भने गोपालीले ८ सय ६३ मत पाए ।
थाहाकै २ नम्बर वडामा भने नेकपा एमालेले आफ्नो साख जोगाउनै सकेन । सबै सदस्य माओवादीको भइकन पनि अध्यक्षमा निर्वाचित भएर वडाको नेतृत्व गरेको एमालेको उक्त पद २०७९ मा गुमेको छ । ०७४ मा वडा नम्बर २ मा माओवादी केन्द्रका शंकर तामाङलाई १ सय ३ मतले पछि पारेकोमा यसवर्ष माओवादीले बाजी मारेको छ । ०७४ मा तामाङले ७ सय २१ र एमालेका गुप्त बहादुर कार्कीले ८ सय २४ मत पाएका थिए । यसवर्ष भने माओवादी केन्द्रका बमबहादुर सिन्तानले उनै गुप्त बहादुर कार्कीलाई १५ मतले मात्र पछिपार्दै विजयी भए । सिन्तानले ७ सय ३५ र कार्कीले ७ सय २० मत मात्र पाए ।
थाहाको वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रले ०७४ को वीरासत जोगाए पनि मतान्तर बढाउन सकेन । यसअघि माओवादीका राजेश केसीले ३ सय ७१ मतान्तरले निकटतम प्रतिद्वन्द्धी राष्ट्रिय जनमोर्चाका लक्ष्मण विष्टलाई पराजित गरेका थिए । यस पटकको चुनावमा विष्ट नै माओवादीमा प्रवेश गरेको भएपनि माओवादीको मतान्तर जोगिएन । ०७४ को चुनावमा केसीले ८ सय ४ र विष्टले ४ सय ३३ मत पाएका थिए । यसवर्ष २०७९ को पालिका चुनावमा भने ३ नम्बर वडाका अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले नेकपा एमालेका सुजन कुमार रायमाझीलाई १ सय ८९ मतान्तरले मात्र पराजित गरेका छन् ।
नेकपा माओवादीको लाल किल्ला भनिदै आएको वडा नम्बर ४ को अध्यक्षमा नारायण लामा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका रामराजा केसीलाई २ सय ४१ मतान्तरले पराजित गरे । लामाले ७ सय ७३ र केसीले ५ सय १२ मत पाए । यसअघि ०७४ सालको चुनावमा ४ नम्बर वडामा माओवादीका दिपक सिं लामाले ४ सय ६३ मतान्तरले एमालेका अच्युत केसीलाई पराजित गरेका थिए । अध्यक्षका उमेद्वार लामाले त्यसबेला ८ सय ८ र एमालेका केसीले ३ सय ४५ मात्र मत पाएका थिए ।
२०७९ मा यि चार वडामा लगातार जितेको नेकपा माओवादी केन्द्र थाहानगर विजेता त भयो तर अघिल्लो निर्वाचनमा झै मतान्तर कायम राख्न सकेन ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्