मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा रहेको श्री गणेश कृषक समूहले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिका कृषि विकास शाखाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यनुवल अनुसार ५० प्रतिशत अनुदानमा समूहले सामाग्रीहरु वितरण गरिएको हो ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा सिम्लाङमा एक कार्यक्रमकाबीच कृषक तथा कृषि समूहहरुलाई मिनी टिलर, डिजिटल काँटा, इलेक्ट्रिक स्प्रे पम्प, हिल टेक ट्याङ्की, टनेल प्लाष्टिक, विउविजनहरु, सुक्ष्म तत्व भिटामिनलगायतका सामाग्रीहरु वितरण गरिएको हो । किसानहरुलाई दोस्रो चरणमा इन्सेक्ट नेट, मल्चिङ प्लाष्टिक, थोपा सिंचाइ पाइपलगायतका सामाग्री वितरण गरिने श्री गणेश कृषक समूहले जनाएको छ ।

सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी पुडासैनीले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्नका लागि सामाग्री सहयोगी सावित हुने विश्वास व्यक्त गरे । उनले अनुदानका सामाग्रीको अधिक्तम प्रयोग गर्नका लागि सुझाव दिए । पालिकाको सहयोगबाट कृषकको आर्थिकस्तर उकास्न र परिवर्तन गर्न ठूलो सहयोग मिल्नेमा अध्यक्ष पुडासैनीले आशा व्यक्त गरे । उनले खेतीपातीबाट भएको आम्दानीबाट परिवारको स्वास्थ्य र शिक्षामा लगानी गर्न पनि आग्रह गरे । उपाध्यक्ष उमा कुमारी लामाले पालिकाका किसानहरुले कृषि औजार तथा सामाग्री पाउनु कृषि यान्त्रिकरणको फड्को भएको बताइन् । उनले परम्परागत कृषि प्रणालीमा भन्दा यान्त्रिकीकरण मार्फत खेतीपात िगर्दा समयको बचत समेत हुने बताइन्। ‘गोरुले खेत बारी जोत्दा घण्टौं लाग्ने काम ट्क्टर (मिनी टिलर) माफत जोत्दा कम समय लाग्छ, उदाहरण यहि हो’–उपाध्यक्ष लामाले भनिन् । कार्यक्रममा कृषि विकास शाखा प्रमुख कुमार पौडलले कृषि औजार र सामाग्रीको प्रयोग, कायृक्रमको उद्देश्य तथा यसले दिने प्रतिफलको विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

श्री गणेश कृषक समूहकी अध्यक्ष चिनी कुमारी थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुवास थापा मगर, ३ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष चिरञ्जीवि पौडेल, वडा सचिव सुरेश प्रसाद कोइराला, कृषि शाखा प्रमुख कुमार पौडेल, कृषि प्राविधिक सृष्टि सिग्देल, अगुवा कृषक झमकलाल बलामीलगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी