जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ थाहा नगरपालिका (फेकोफन) को समन्वयमा एकदिने प्राविधिक सल्लाह तथा परामर्श कार्यक्रम भएको छ। थाहा नगरपालिकाको विकास घरमा भएको कार्यक्रम थाहानगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा जिल्ला वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले विस्तृत प्रस्तुतिकरण गरेका थिए । उनले नगरपालिकामा जडिबुटी खेतीको सम्भाव्यता र व्यापारिकरणको बारेमा सहभागीहरुलाई जानकारी गराए । प्रमुख पराजुलीले थाहानगरमा जडिबुटी प्रबद्र्धनमा रहेका समस्या र समाधानको उपाय बताउदै जडिबुटी सम्बन्धि अनुसन्धान, खेती प्रविधि, विकास र विस्तार सम्बन्धी कार्यपत्र समेत पेश गरेका थिए ।

नेपालमा भएका ११ वटा वनस्पति उद्यान मध्ये मकवानपुर जिल्लामा मात्रै ३ वटा र त्यस मध्ये पनि थाहानगरमा २ वटा वनस्पति उद्यान रहेको बताउँदै जडिबुटी सम्बन्धि सिप विकास तालिम जनचेतनामुलक कार्यक्रम स्थानीय सरकारले संचालन गर्नुपर्ने बताए । सेरेमोनियल वृक्षरोपण गर्ने कार्यको थालनी पनि उनकै कार्यकालमा सुरु भएको र चाडै नै दामन र टिस्टुङ वनस्पति उद्यानमा समेत सो कार्यक्रमको थालनी गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा फेकोफेन थाहानगरका उपाध्यक्ष गणेशमान श्रेष्ठले स्थानीय सरकारले तत्काल गर्नुपर्ने स्थानिय वन ऐन निर्माण, वन तथा वातावरण संरक्षण, रिजार्जेवल पोखरी निर्माण, कुलेखानी जलविद्युतबाट हुने आम्दानी बन तथा बाताबरणमा लगानी, महासंघको कार्यालय संचालन, नगरपालिकाको भू–उपयोग नीति तत्काल लागुहुनुपर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख विष्टले बनस्पति कार्यालय र वनलाई बहुउपयोगी बिरुवा बृक्षारोपण गर्दै उत्पादन संग जोड्ने कार्यक्रम ल्याए थाहा नगरले सहयोग गर्ने बताउदै बेरोजगारी समस्या र बाझो जमिनको समस्याको हल गर्नकै लागि जडिबुटी खेती उपयुक्त हुने धारणा राखे । उनले युवाहरुलाई खेतीतर्फ आकर्षण गर्ने खालको कार्यक्रम ल्याउन आग्रह पनि गरे ।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, फेकोफनका नगर अध्यक्ष शिवराम थापा, थाहा–३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी र ४ का नारायण लामा, ईलाका वन कार्यालय पालुङका वन अधिकृत कृष्ण आचार्य, प्रेस सेन्टर थाहाका अध्यक्ष शम्भु अधिकारी, दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिका अध्यक्षहरुलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी