पालिका, प्रदेश र संघीय सरकारले विभिन्न जनमुखी कार्यक्रमको घोषणा त कति गर्छन्, गर्छन । तर नागरिकको दैनिक जीवनलाई समेटेर मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ ले उदाहरणीय कामको घोषणा गरेको छ ।

नागरिकलाई प्रत्येक्ष सहयोग पुग्ने र जनप्रतिनीधि भएको भएको आभाष दिने कार्यक्रम वडा समिति बैठकबाट निर्णय भएको वडा सचिव पाल्साङ लामाले जानकारी दिए । ६ असारमा बसेको बैठक वडा समितिको बैठकले आफ्नो वडामा सुत्केरी उद्दार, बुहारी छात्रवृत्ति, वडा पञ्जीकरण शिविरलगायतका नागरिकसंग प्रत्येक्ष सरोकार राख्ने कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।

आर्थिक बर्ष २०७९/०८० देखि लागुहुने थाहा नगरपालिका वडा नम्बर ४ लाई ‘शुन्य घर सुत्केरी’ घोषणाका लागि घरबाट स्वास्थ्य संस्थासम्म पुग्न एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । वडा अध्यक्ष लामाले भने–‘घरबाट सुत्केरी हुन स्वासथ्य संस्थासम्म पुग्ने एम्बुलेन्स भाडा वडाले तिर्दिन्छ ।’ देख्दा सानो जस्तो लागे पनि मातृशिशुको क्षेत्रमा महत्वपूर्ण हुने भएकोले वडा कार्यालयले यस्तो कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष लामाले बताए । उनले भने, ‘हामीले लोकप्रियताको लागि निर्णय गरेका होइनौं, बजेटको पनि व्यवस्था गरेका छौं ।’ यस अघि पनि ४ नम्बर वडाले गर्भवती महिलाहरुलाइ पोषण कार्यक्रम संचालन गर्दै आएको थियो ।

पालिका र स्वास्थ्य कार्यालय संस्थासंगको समन्वयमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई घरमै परिचयपत्र वितरण गरिने वडा सचिव पाल्साङ लामाले जानकारी दिए । वडामा स्थायी बसोबास गर्दै आएका गरिब तथा विपन्न परिवारका ३ जना बुहारीलाई प्रमाणपत्र तहदेखि स्नातक तहसम्मको पढाई पूरा गर्न पुर्णतः छात्रवृत्ति उपलब्ध गराउने पनि निर्णय भएको वडा समितिका सदस्य सचिव समेत रहेका लामाले जानकारी दिए ।

२०.६८ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको वडा नम्बर ४ को माथिल्लो भेग दामन, सिमभन्ज्याङ, नारायणझ्याउ, जुरेथुम, फापरबारी, ठुलोमाखु क्षेत्रको नागरिकलाई मध्येनजर गर्दै मासिक रुपमा दामनमा पञ्जीकरण तथा अन्य वडाबाट प्रवाह हुने सुविधा उपलब्ध गराउन नागरिक सेवा शिविर संचालन गर्ने निर्णय भएको छ । यस्तो शिविर प्रत्येक महिनाको पहिलो हप्ताको आइतबार दामन सहरी स्वास्थ्य केन्द्रमा संचालन हुने वडा अध्यक्ष लामाले जानकारी दिए । मासिक नागरिक सेवा शिविरबाट त्यस भेगका बासिन्दाले लाभ लिन सक्ने अध्यक्ष लामाको विश्वास छ ।

पालिका प्रेस
थप जानकारी