मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १० असारमा गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा भूमिहिन नागरिकलाई भूमि र लालपुर्जा दिनेदेखि कृषि तथा पशुपालन,पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकता दिईएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष खत्रीले गाउँपालिकामा करिब ६० प्रतिशत घरधुरीसंग आफ्नो जग्गा प्रमाण पुर्जा प्राप्त नभएको, नापनक्सा समेत नभएको ऐलानी जग्गा भएको र त्यस्ता जग्गाको तथ्यांक संकलन समेत भइसकेको तथा वडा नंबर ५ र ६ मा नापीसक्साको कार्य भईरहेकोमा सबै वडाहरुमा नापीनक्सा गरी न्युनतम क्षेत्रफलको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन स्थानीय तहको तर्फबाट तिब्र प्रकृया अगाडी बढाईने तथा सो का लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिने बताए ।

नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि तथा पशुपालन क्षेत्रको विकास गर्न अनुदानको कार्यक्रमहरुलाई निरन्तरता दिँदै कृषिजन्य तथा पशुजन्य उपजको सहज बजार पहुँचलाइ सुनिश्चित गराउन आवश्यक कार्यक्रमहरु ल्याईने जनाईएको छ ।

गाउँपालिकालाई कृषि उपजहरुमा आत्मनिर्भर बनाउँदै लैजान प्रोत्साहनको कार्यक्रमहरु ल्याईने नीति तथा कार्यक्रममा जनाईएको छ । यसैगरि,नीति तथा कार्यक्रममा गाउँपालिकामा पर्यटकीय क्षेत्रहरुको पहिचान गर्दै पर्यटन प्रवद्धन गर्न पर्यटन गुरुयोजना निर्माण गरिने उल्लेख गरिएको छ ।

गाउँपालिकाको धियाँल डाँडा,सरस्वती,टिकुलीमा भ्यु टावर,सरस्वती मोहरी जीवलाईन जस्ता पर्यटकीय प्रवद्धन क्षेत्र विस्तारका लागि आवश्यक पहल गरिने जनाईएको छ । यसैगरि,पर्यटकीय क्षेत्रको विकासको लागि गाउँपालिकाको भमरा,जुरेली माझी बस्ती,जुँईना अधँरी र ठिगंन घले गाउँमा होमस्टे संचालन तथा गाउँपालिका भित्र साहसिक पर्यटन प्रवद्धनको लागि सम्भाव्यता अध्ययन तथा निर्माणको प्रकिया अगाडी बढाईने उपाध्यक्ष खत्रीले बताए ।

हेर्नुहोस पूर्णपाठः

पालिका प्रेस
थप जानकारी