हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेकपा एमालेको बहिष्कारका कारण १० असारमा बजेट ल्याउन नसकेको उपमहानगरले १२ असारमा  ११ औं नगरसभाको दोस्रो वैठकमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

उपमेयर राजेश बानियाँका अनुसार पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय र संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमाने छ ।

उपमहानगरले हेटौंडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौंडा–४ मा वासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रुपैयाँ, वडा तथा वस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमेयर बानियाँका अनुसार हेटौंडा–११ मा निर्माणाधिन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रुपैयाँ, डाक्टर पढाउनका लागि मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत् २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पालिका प्रेस
थप जानकारी