मकवानपुर कैलाश गाउँपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुको टोलीले जिल्लाकै थाहा नगरपालिकामा सिकाई भ्रमण गरेका छन् । पालिका–पालिकाबीच सिकाई आर्दान प्रदान गर्ने उद्देश्यले भ्रमण गरिएको कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले बताए ।

भ्रमण टोलीलाई थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट तथा उपप्रमुख भरत गोपालीले स्वागत गरेका थिए । भ्रमण टोली र थाहा नगरपालिकाका जनप्रतिनीधि तथा कर्मचारीबीच अन्तरक्रियात्मक छलफल समेत भएको थियो । थाहाको तर्फबाट सूचना अधिकारी सुरजकुमार भुजेलले पालिकाले संचालन गरेको असल अभ्यासको विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा कैलाश गाउँपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुले पालिकामा सूचना प्रविधिको प्रयोग, उपलब्धी, योजना कार्यान्वयन र सफलता, आर्थिक व्यवस्थापन, विषयगत शाखाहरुको काम कारबाही र समग्र पालिकाको उपलब्धी हासिल गर्न भएको प्रयासका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासामा, कृषि विकास शाखा प्रमुख संजय तिवारी, प्राविधिक शाखा प्रमुख इन्जिनियर सन्तोष बोहरा, आर्थिक प्रशासन शाखाकी नमुना कौशिक, शिक्षा शाखाका शाखा अधिकृत माधव विक्रम मल्ल तथा सूचना अधिकारी भुजेलले प्रष्ट्याएका थिए ।

थाहा नगरपालिका शिक्षा शाखाका माधव विक्रम मल्लले सहजीकरण गरेको कार्यक्रममा कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाइले कैलाशमा पूर्वाधार विकासको साथै बालमैत्री सथानीय साशन अवलम्बनमा काम गरिरहेको बताए । उनले भौतिक पूर्वाधार विकासका साथै सामाजिक क्षेत्रको विकासका काम गर्नुपर्ने औल्याए । पालिका अध्यक्ष लोक बहादुर मुक्तानले नागरिकको माग सडक पूर्वाधार नै रहेको बताउँदै विपन्न नागरिक केन्द्रित तथा शिक्षा र स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए । पालिकाले २ वटा एम्बुलेन्स संचालन गरिरहेको बताउँदै प्रसुति सेवालाई एम्बुलेन्स निःशुल्क गरिएको बताए । उनले थाहानगरसंग सिकाइ आर्दानप्रदान मात्र नभई सहकार्य गर्न सकिने कुरामा संगै अघि बढ्ने धारणा राखे । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टले नीतिगत रुपमै प्रष्ट भएर काम गरे सबैको साथ र सहयोग भई उपलब्धी हासिल गर्न सकिने बताए । सम्पूर्ण योजनाहरु सफल रुपले सम्पन्न गर्नका लागि योजना तर्जुमा देखि नै योजनावद्ध रुपमा काम गर्नुपर्ने बताए । थाहा नगरपालिकाले वर्षैपिच्छे योजना कार्यान्वयन तालिका बनाएर काम गरिरहेको कार्यक्रममा प्रष्ट्याए ।

मायाँको चीनो प्रदान गर्दै थाहानगर प्रमुख विष्णु विष्ट र ग्रहण गर्दै कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तान ।

अन्तरक्रियात्मक कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, आर्थिक प्रशासन शाखा प्रमुख नविन धिताल, सूचना प्रविधि अधिकृत प्रकाश राई, शिक्षा अधिकृत सुर्य बहादुर थिङलगायतको सहभागिता रहेको थियो भने थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, सूचना प्रविधि अधिकृत भगिरथ कार्की, आन्तरिक लेखा परीक्षण शाखा प्रमुख सन्दीप पौडेल, योजना शाखा प्रमुख प्रकाश कुमार लामालगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा थाहा नगरपालिका प्रमुख विष्टले कैलाश गाउँपालिकाको लागि पालिका अध्यक्ष मुक्तानलाई मायाँको चीनो प्रदान गरे । मायाँको चीनो प्रदान गर्दै प्रमुख विष्टले पूर्वाधार विकास तथा विषयगत तथा सामाजिक क्षेत्रका कार्यक्रमहरुमा दुई पालिकाबीचको सहकार्यको प्रतिवद्धता व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी