मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको भूकम्प पीडितहरुसँग रकम असुली गरेको आरोपमा तत्कालीन इन्जिनियरविरुद्ध उजुरी परेको छ ।
पुननिर्माण प्राधिकरणले भूकम्प पीडितहरुका लागि निर्माण गरिदिने घरको प्राविधिक र प्रशासनिक काम हेर्न करारमा जागिर खाएका इन्जिनियर रविन्द्र यादवले भूकम्प लाभग्राहीहरुसँग रकम असुली गरेको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएका हुन् । मनहरी गाउँपालिका–६ मा खटिएका इन्जिनियर यादवले ११ महिनाअघि लाभग्राहीसँग रकम असुली गरेको खुलेको हो । यादवले जागिर छोडेको १ वर्ष भइसक्दा पनि लाभग्राहीसँग रकम असुली गर्न नछोडेको पाइएको छ ।

मनहरी–६ का अधिकांश लाभग्राहीहरुसँग यादवले प्रति लाभग्राही १ लाख ५० हजार रुपैयाँसम्म असुली गरेको वडा अध्यक्ष युवराज थपलियाले जानकारी दिएका छन् । पीडितहरुले वडाध्यक्ष थपलियासँग पुगेर गुनासो राखेपछि घटना बाहिर आएको थियो । इन्जिनियर यादवले रकम असुल गरेको भन्दै लाभग्राही हर्षबहादुर राई र कालेबहादुर राईले इलाका प्रहरी कार्यालय मनहरीमा ठगी मुद्दा दर्ता गराएका छन् । ‘यादवले रकम नपाए भुक्तानीको कागज अघि बढाउँदिन भन्दै लाभग्राहीलाई रकम दिन बाध्य तुल्याउने रहेछ ।,’ वडाध्यक्ष थपलियाले भने । सोझा साझा लाभग्राहीलाई भुक्तानी नै रोकिदिने धम्की दिएर यादवले रकम लिने गरेको थपलियाले बताए ।
इन्जिनियर यादव हाल फरार छन् ।

उनलाई साझाकुराले सम्पर्क खोजेपनि उनले फोन उठाएनन् । साउनको पहिलो साता लाभग्राहीसँग रकम बार्गेनिङ गरी लिनका उनी मनहरी आसपासमै आएको बुझिएको छ । यादवलाई कतिपय लाभग्राहीले नगद र कतिपय लाभग्राहीले बैंक खातामा रकम जम्मा गरिदिएको बताइएको छ । सामाजिक काममा लागेकी महिला नेतृ तथा महिला उत्थान तथा सीप विकास केन्द्रकी अध्यक्ष मनहरी–६ प्रतापपुरकी लक्ष्मी राईले इन्जिनियर यादवले सोझा साझा लाभग्राहीहरुलाई ठगेको बिषयमा सबैले आवाज उठाउनुपर्ने बताएकी छन् ।

राईले आफूमाथि यादवको सहयोग गरेको आरोप लगाएको भन्दै खण्डन गरेकी छन् । पुननिर्माणको रकमबारे बुझ्न बैंक गएको बेला फुपूको आग्रहमा आफूले रविन्द्र यादवको खातामा ९० हजार रुपैयाँ संकलन गरेको लक्ष्मीले बताइन् । ‘म बैंकमै थिएँ, फुपूले ९० हजार रुपैयाँ यो खातामा हालिदेउ, मैले जानिनँ भनेपछि हाल्दिएको हँु । त्यो कसको पैसा मलाई थाहा थिएन् ।,’ माझिले भनिन् ।वडाध्यक्ष थपलियासहित बसेर छलफल गर्दा अन्य धेरै मान्छेको रकम यादवले ठगी गरेको पाइएपछि उसलाई पक्रनुपर्छ भन्नेमा आफूहरु एकमत भएर लागेको लक्ष्मीले बताएकी छन् । राईले पैसा जम्मा गरेको भौचरसमेत प्रहरीको बुझाएकी छन् ।

पालिका प्रेस
थप जानकारी