प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन २ लाख ६० हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार मंसिर ४ मा हुने निर्वाचनका लागि २ लाख ६१ हजार ५ सय ६५ जना जनशक्ति खटिनेछन् । तीन महिनाअघि भएको स्थानीय निर्वाचनमा १ लाख ९६ हजार जनशक्ति परिचालन गरिएको थियो ।

१ करोड ८२ लाख मतदाता सहभागी हुन सक्ने आउँदो निर्वाचनमा करिब ११ हजार मतदान स्थलमा २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आयोगले आकलन गरेको छ । निर्देशिकाअनुसार पाँच सयसम्म मतदाता भएको एउटा केन्द्रमा ११ जना कर्मचारी खटाउने गरी जनशक्ति व्यवस्थापनको योजना बनाइएको हो । प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी ५, सहयोगी एक, स्वंसेवक तीन जना खटिनेछन् । पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा थप एक स्वयंसेवक हुनेछन् । एउटा केन्द्रमा स्वयंसेवकसहित सरदर ११ जना खटिँदा निर्वाचन गराउन मात्रै २ लाख ४७ हजार ५ सय जना खटिनेछन् । यसमा मतदान अधिकृत २२ हजार ५ सय, सहायक मतदान अधिकृत २२ हजार ५ सय, सहायक कर्मचारी १ लाख १२ हजार ५ सय, सहयोगी कर्मचारी २२ हजार ५ सय, स्वयंसेवक ६७ हजार ५ सय हुनेछन् ।

यसबाहेक १ सय ६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय हुनेछ । यी कार्यालयमा कम्तीमा १३ हजार १ सय ६५ कर्मचारी खटिनेछन् । त्यस्तै आयोग र ७७ वटा जिल्ला निर्वाचन कार्यालयमा गरी ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ । मतदाता शिक्षामा खटिने र सुरक्षाकर्मीको संख्या अझै यकिन भएको छैन । आयोगले मतदाता शिक्षाका लागि ४० हजार स्वयंसेवक राख्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ । कारागार, सुरक्षा निकाय, वृद्धाश्रममा अस्थायी मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या पनि यकिन भएको छैन । निर्वाचन आयोगले संघ, प्रदेश, स्थानीय तह, सरकारी स्वामित्वमा रहेका कर्मचारी, विश्वविद्यालय, सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई निर्वाचनमा परिचालन गर्न सक्ने गरी जनशक्ति व्यवस्थापन निर्देशिका आयोगले स्वीकृत गरेको हो । गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा शाखा अधिकृत, शिक्षक र नगरपालिका क्षेत्रको मतदान केन्द्रमा उपसचिव, माध्यमिक तहको शिक्षकलाई मतदान अधिकृतमा खटाउन सक्ने प्रावधान निर्देशिकामा राखिएको छ ।

०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हरेक निर्वाचन मतदान केन्द्रमा ९ जना खटिएका थिए । यसपालि बढाएर ११ पुर्‍याइएको हो । यसअघिको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ फरक मतपत्र भए पनि समानुपातिकतर्फ दुवैको मतपत्र एउटैमा समावेश गरी ३ मतपत्रको व्यवस्था थियो । यसपालि प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकको मतपत्र छुट्टाछुट्टै बनाउन लागिएको छ । ‘यसले गर्दा पनि हरेक मतदान केन्द्रमा १/१ जना कर्मचारी थप भएको हो,’ आयोगका एक अधिकारीले भने ।

पालिका प्रेस
थप जानकारी