पोखरा महानगरपालिका वडा नम्बर २१ का नन्दप्रसाद पोखरेल आइतबार पोखरा सभागृहमा प्रफुल्ल मुद्रामा भेटिए । आफूले २० रोपनी जग्गामा सघन प्रजातिको घाँस उत्पादन गरेवापत महानगरबाट ६० हजार रुपैयाँ अनुदान पाएपछि उनी मख्ख थिए ।

कृषि पेशामा आवद्ध पोखरेल लामो समयदेखि सघन घाँस उमार्दै आएका थिए । तर, घाँस खेती गर्दा पनि अनुदान पाइन्छ भन्ने आफूलाई थाहा नभएको उनले प्रतिक्रिया दिए । ‘वस्तुभाउलाई खुवाउन यत्रो लामो समयदेखि घाँस लगाउँदै आएको छु । तर, घाँस लगाउँदा पनि अनुदान पाइन्छ भन्ने थाहा थिएन,’ उनले खुसी साटे, ‘यसपालि त महानगरले खोजीखोजी आफैं दियो ।’

पोखरेलजस्तै सघन घाँस खेती गर्ने पोखरा महानगरभित्रका ९३ जना किसानले आइतबार महानगरबाट अनुदान पाएका छन् । ९३ जना किसानलाई महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ अनुदान वितरण गरेकी हुन् ।

महानगर पशु सेवा शाखाकाअनुसार २ रोपनी क्षेत्रफलभन्दा माथि सघन घाँस उत्पादन गर्ने किसानले प्रति रोपनी ३ हजारका दरले अनुदान पाए । पशुसेवा शाखा प्रमुख नवराज अधिकारीका अनुसार किसानले आफूले खेती गरेको जग्गाको हिसाबमा ६ हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म अनुदान पाएका छन् ।

अधिकारीले महानगर क्षेत्रभित्र १० रोपनी भन्दा बढी लगाउने १३ जना, ५ देखि ९ रोपनीमा लगाउने २२ जना, २ देखि माथि र ५ रोपनीभन्दा कम लगाउने ५८ जना किसानले अनुदान पाएको जानकारी दिए ।

‘पोखरा महानगरमा आर्थिक वर्ष ०७८/७९ मा ४ सय ८९ रोपनीमा सघन घाँस लगाइएको छ,’ शाखा प्रमुख अधिकारीले भने, ‘त्यसबाट ७ हजार ३ सय ३५ मेट्रिक टन घाँस उत्पादन हुनेछ ।’

अनुदान वितरण कार्यक्रममा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताइन् । उनले पोखरा पर्यटकीय क्षेत्र भए पनि कृषिमा पनि उत्तिकै सम्भावना रहेको सुनाइन् । ‘यहाँको कृषि क्षेत्रलाई सुधार्न घाँस र बिउसँगसँगै उत्पादन गर्नुपर्दछ,’ उनले भनिन् ।

उपप्रमुख गुरुङले पोखरा महानगरले कृषिलाई प्रोत्साहन गर्न अनुदान, कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम ल्याएको समेत जानकारी दिइन् । ‘पोखराको पहिचानसँग जोडिएको जेठोबुढो चामलको ब्रान्डिङ गर्ने काम पनि गरिरहेका छौं’ उनले भनिन् ।

पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले कृषि उत्पादन बढाउन किसानकै मागका आधारमा महानगरले अनुदान कार्यक्रम ल्याएको बताए ।

 

पालिका प्रेस
थप जानकारी