हेटौंडा अस्पतालको नयाँ भवनमा सेवा विस्तार गर्नका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले १४९ जना कर्मचारीहरु माग गरेको छ । प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नको लागि विभिन्न तहका १४९ जना कर्मचारीहरु माग गरेको हो । अस्पतालको नयाँ भवन निर्माणको काम सकिएको छ । यही भवनमा सेवा विस्तार गर्नका लागि थप जनसक्ति आवस्यक परेकाले १४९ जना कर्मचारी माग गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो ।

अहिले भइरहेको जनसक्तिले अपुग भएपछी थप जनसक्ति समेत राख्न लागिएको हो । जनसक्ति अभाबको समस्या झेल्दै आएको अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार गरेपछी थप सहज हुने प्रसाईले बताउनुभयो । प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालतर्फ आवश्यक विभिन्न तहका १४९ जना जनशक्तिहरु करार सेवाबाट लिनुपर्ने भएकोले आज नागरिक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकासन गर्दै आवस्यक जनसक्ति माग गरिएको हो । यही भदौ २६ गते सम्म योग्यता पुगेका नागरिकले आवेदन दिनका लागि आग्रह गरिएको छ । हेटौडा अस्पतालको नयाँ भवनबाट सेवा सुचारु गर्न लोक सेवा आयोगबाट पदपुर्ती नभएसम्मको लागि करारमा कर्मचारी माग गरिएको प्रसाईले बताउनुभयो ।

प्रतिष्ठानले सबैभन्दा बढी स्टाफ नर्स ४५ जना, हाउस अफिसर १५ जना, हेल्थ असिस्टेन्ट र डाटा इन्ट्री तथा क्यासियर ११–११ जना जना माग गरेको छ । त्यस्तै अस्पताल व्यवस्थापक, आयुर्वेद चिकित्सक, लोखा अधिकृत, मेडिकल रेकर्डर अधिकृत, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्डर सुपरभाईचर, प्रशासन सहायक, प्लम्बर, फिजियोथेरापी सहायक, बायोमेडिकल सेक्निसियन र आयुर्वेद सहायक एक–एक जना माग गरेको छ ।

त्यसैगरी नर्सिङ्ग अधिकृत ८ जना, फार्मेसी असिस्टेन्ट ७ जना, सामाजिक सेवा ईकाइ सहजकर्ता र सिएसएसडी सहायक ६–६ जना, रेडियोग्राफि टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, डेन्टल आईजिनिष्ट र रेडियोग्राफर ४–४ जना, ओटी टेक्निसियन ३ जना माग गरेको छ । एनेस्थेसियन सहायक, इलेक्टीसियन, फार्मसिष्ट, एनेस्थेसिया अधिकृत र प्रशासनिक अधिकृत दुईदुई जना प्रतिष्ठानले माग गरेको छ ।