मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामामा रहेको अपाङ्ग तथा विपन्न सहकारी संस्थाले गाउँपालिकासंगको लागत साझेदारीमा संचालनमा ल्याएको कोदो संकलन तथा प्रशोधन केन्द्र एक समारोहका वीच उदघाटन गरिएको छ । सहकारी संस्थाका अध्यक्ष दिलबहादुर योञ्जनको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आथित्यता तथा पालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, रुद्रबाटिका सामुदायिक स्वास्थ्य इकाईका प्रमुख लक्ष्मण दाहाल, कृषि प्राविधिक गोपाल लम्सााल, सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु र कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले विद्युतीय घट्टको स्वीच थिचेर घट्टबाट कोदो पिसेर उदघाटन गरेका थिए । कोदो पौष्टिक हिसाबले महत्वपूर्ण बाली भएको र यसको बजार माग क्रमशः वृद्वि हुदै गईरहेकोले कृषकहरु कोदो उत्पादनमा लाग्नु पर्ने र सहकारी मार्फत कोदोको संकलन र पिठोलाई प्याकेजिङ गरि बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष लामाले प्रतिवद्धता व्यक्त गरे ।

बिगत दुई आर्थिक वर्ष देखि सहकारी संस्थाले कोदो संकलन गर्दै आईरहेकोमा भवन अभावका कारण व्यवस्थित रुपमा कोदो संकलन तथा विविधिकरण गर्न सकिरहेको थिएन । अब भण्डारण भवन निर्माण र पिसानी मिल स्थापना पश्चात व्यवस्थित रुपमा कोदो संकलन, भण्डारण तथा प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न सहज हुने सहकारीका सचिव कृष्ण बहादुर घलान (मुस्कान) ले बताए ।

सहकारी संस्थाले कोदो संकलनको कार्य शुरुवात गरेपछि यस भेगका कृषकहरुलाई कोदो बिक्री गर्न सहज भएकोले विगतको वर्षहरुभन्दा कोदो खेती विस्तार भएको छ । गत वर्ष वडा नम्बर ४ बाट मात्र १३ हजार ५०० किलो कोदो संकलन गरिएकोमा यस वर्ष अन्य वडाहरुबाट समेत कोदो सँगै फापर पनि संकलन गरिने लक्ष्य रहेको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिए ।

गाउँपालिकाले स्थानीय तहमा कोदो र फापरको मूल्य निर्धारण गर्छ र सोही मूल्यमा सहकारी संस्थाले खरिद गर्छ भन्ने गाउँपालिकाले सहकारी मार्फत प्रति केजी ४ रुपैयाका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउदै आईरहेको छ ।

पालिका प्रेस
थप जानकारी