मकवानपुर थाहा नगरपालिका क्षेत्रका होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण गरिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले यस सम्बन्धी प्रक्रिया शुरु गरेको छ । नगर क्षेत्रका होटल तथा रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण तथा लोगो वितरण गर्नको लागि ३ असोजमा समूह गठन तथा होटल व्यवसायीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

थाहानगर होटल एशोसियसनसंगको समन्वयमा शंकर होटलमा आयोजित कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्रमुख डाक्टर क्षितिज श्रेष्ठ तथा कार्यालयका प्रेम अर्यालले सहजीकरण गरेको कार्यक्रममा थाहा नगरभित्रका होटल व्यबसायिहरुको उपस्थिति रहेको थियो। आधारभुत तर खाद्य स्वच्छताको न्युनतम आधारलाई सुधार गर्न आग्रह गर्दै पर्यटकीय क्षेत्रको होटल व्यवसायहरुको स्तरीकरण, मुल्यांकन तथा अनुगमन अति आवश्यक रहेको कार्यक्रममा बताइएको छ ।

कार्यक्रम थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालयको रोहवरमा रहने गरी स्तरीकरण लोगो वितरण गर्नको निम्ति होटल एशोसियसन थाहानगरको अध्यक्ष संयोजक रहने गरी स्थानीय खाद्य स्वच्छता समिती गठन गरिएको छ ।

समितिको सदस्यहरुमा थाहा ४ का वडा अध्यक्ष, स्थानीय होटल संचालकको प्रतिनिधि एक जना, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि एक जना, उपभोक्ता हकहित संरक्षण समितिका प्रतिनिधि र खाद्य कार्यालयका प्रतिनिधि एक जना रहने छन् । कार्यालयले दशै लगत्तै अनुगमन गरी लोगो वितरण गर्ने जनाएको छ।

पालिका प्रेस
थप जानकारी