मकवानपुरको थाहा नगरपालिकाले बिक्रि प्रयोजनका लागि माटो उत्खनन् गर्न पेश भएको प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन (आइई) प्रतिवेदन माथि कार्यपालिका बैठकमा छलफल भएको छ । छलफलले कार्यपालिकामा प्रमुख एजेण्डा बनेको प्रारम्भिक वातावरणिय प्रभाव मुल्याङ्कन प्रतिवेदन विज्ञको सुझाव सहित पारित गर्ने निर्णय गरेको छ । थाहानगरको ३ कात्तिकमा बसेको कार्यपालिका बैठकमा वडा नम्बर ५ का विष्णु बहादुर गुरुङसहितको नाममा दर्ता कायम रहेको १९ रोपनी जग्गाबाट माटो उत्खनन् गरी विक्रि प्रयोजनका लागि पठाउने सम्बन्धमा जग्गाधनी मार्फत पेश भएको थियो ।
नगरपालिका क्षेत्रबाट माटो बिक्रीका लागि उत्खनन् गर्दा बागमती प्रदेशको आर्थिक ऐन २०७९ मा माटो बिक्रीको व्याख्यात्मक वाक्यमा व्यवस्था भए बमोजिम प्रतिघन फिट ६ रूपैया तोक्ने निर्णय कार्यपालिकाको रहेको छ । पालिकाले गरेको निर्णयहरु कार्यान्वयनका लागि वडा कार्यालयहरुमा पठाइएको जनाइएको छ ।
त्यसैगरी भू–उपयोग ऐन, २०७६ ले तोकेबमोजिम थाहा नगरस्तरीय भू–उपयोग कार्यान्वयन समितिमा सरोकारवालाहरुलाई सदस्यमा मनोनित गर्ने निर्णय भएको छ । भू–उपयोग सम्बन्धमा वडा समितिहरुले वडाभित्र आवश्यकताका आधारमा छलफल गराई यहि कात्तिक २० गतेभित्र नगरपालिकामा क्षेत्रगत विवरण पेश गर्ने निर्णय भएको छ । समितिमा थाहा नगरपालिका वडा नम्बर ११ की सुनिता दोङ, वडा नम्बर ६ का सुविनभक्त श्रेष्ठ, वडा नम्बर ७ का शुभराज गोले र वडा नम्बर ४ की राममायाँ केसीलाई मनोनयन गरिएको छ ।
थाहानगर कार्यपालिका बैठकले वडा नम्बर ४ मा कोशेली घर संचालन गर्नका लागि राजकुमार पन्थको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । वडा नम्बर ३ को ओम कालाभैरब कन्स्ट्रक्शन प्रा.लि. (घ वर्ग) लाई इजाजत पत्र जारी गर्ने र थाहा नगरपालिका वडा नम्बर ६ मा लवग्रिन नेपालसंग फोहोरमैला व्यवस्थापनका लागि सेग्रिगेसन हाउस निर्माण गर्न सहकार्य गर्ने निर्णय भएको छ । त्यस्तै थाहाको पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौमा फोटो प्रदर्शनी गर्ने पनि कार्यपालिकाको निर्णय छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्