पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ। भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन सुरु गरेको हो।

सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिए ।

भूमिगत पार्किङका लागि भनेर यसअघि महानगरपालिकाबाट कर छुट लिएर निर्माण गरिएका ती भवन वर्षौंदेखि पार्किङका रूपमा नभई व्यापारिक प्रयोजनको रूपमा प्रयोग हुँदा महानगरले पटकपटक त्यस्ता सामग्री हटाउन आग्रह गर्दै आएको थियो। केही घरधनीले यसअघि नै व्यापारिक सामग्री खाली गरेका छन् भने अटेर गर्नेको घरमा डोजर लगाइएको प्रमुख आचार्यले बताए।

पालिका प्रेस
थप जानकारी