पर्यटकीय नगरी ‘थाहा’को फोटो काठमाण्डौंको वसन्तपुरमा ३ दिनसम्म प्रदर्शनी गरिएको छ । थाहा नगरपालिकाको आयोजनामा १८, १९ र २० कात्तिकमा भएको फोटो प्रदर्शनीमा १३ हजारले अवलोकन गरेको प्रदर्शनी व्यवस्थापक संस्था फरक सोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।

‘थाहा फोटो प्रदर्शनी, २०७९’ नाम दिई प्रदर्शन गरिएको कार्यक्रममा नेपाललगायत विदेशी पर्यटकहरुले समेत अवलोकन गरेको र उनीहरुले थाहानगरको पर्यटकीय स्थलहरुको फोटो मन पराएको रायमाझीले बताए । ‘नेपालीको तुलनामै विदेशीहरुले समेत फोटो खरिद गरे, यो पर्यटन प्रवद्र्धनको आकर्षण पनि हो’ फरक सोचका संयोजक रायमाझीले भने–‘सबैभन्दा बढि जर्मन अनि न्युजिल्याण्ड र अन्य मुलकका पर्यटकहरुले फोटो मन पराएर खरिद गरे ।’ फोटो प्रर्दशनीको काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकहरुले समेत अवलोकन गरेका थिए ।

मकवानपुर थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौंको वसन्तपुर डबलीमा फोटो प्रदर्शनी गरिएको हो । पर्यटन प्रर्वद्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकको लागि प्रेरित गर्ने उद्देश्य सहित तीन दिने फोटो प्रर्दशनी आयोजना गरिएको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सभ्यता संस्कृती, धार्मिक क्षेत्र मेला जात्रा, ग्रामिण जीवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिएको नगर प्रमुख विष्टले बताए ।

प्रदर्शनीको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । मन्त्री श्रेष्ठले मकवानपुरको थाहा नगरपालिका ‘कल्चर र नेचर’को केन्द्र भएकोले यसलाई प्रवद्र्धन गरी पर्यटनसंग जोडर विकास गरिने बताएका थिए । उनले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनामा समेटर थाहानगरलाई विकास गरिने बताएका थिए । नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक समेत घोषणा गरेको छ ।

प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको थियो भने तस्वीरको बारेमा जानकारी खुल्ने विवरण पनि राखिएको थियो । प्रर्दशनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन नाथम कलेज काठमाण्डौंका विद्यार्थीहरुले स्वयम्सेवकको रुपमा सहयोग गरेका थिए । कार्यक्रममा सहयोग गर्ने कलेज तथा क्याट्रिङलाई मायाँको चीनो दिइएको थियो ।

इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा भएको थाहा फोटो प्रदर्शनीलाई सफल पार्नका लागि थाहानगर उद्योग वाणिज्य संघ, अध्याय रिसोर्ट, पालुङ जेसीज, थाहा होटल एशोसिएशनले सहयोग गरेका थिए भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वको उक्त प्रदर्शनीमा राखिएका फोटोहरु गणेश विष्टले खिचेका थिए ।

पालिका प्रेस
थप जानकारी