आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा स्थानीय तहमा नेतृत्व गरेका केही नयाँ अनुहारहरु उम्मेदवारका रुपमा होमिएका छन् । २०७४ सालमा स्थानीय तह र जिल्ला समन्वय समितिको नेतृत्व गरेका नेताहरु संसदीय चुनाव लड्न अगाडि सरेका हुन् ।

नेकपा एमालेबाट २०७४ मा पालिका प्रमुखमा निर्वाचित ७ र जिल्ला समन्वय समिति प्रमुख चुनिएका २ जना संसदीय निर्वाचनमा उम्मेदवार छन् । यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाबाट एक–एक जना छन् ।

नयाँ यात्राको तयारी, चुनौतीको चाङ

आउँदो प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट उम्मेद्वार हुने सूचीमा निवर्तमान गाउँपालिका अध्यक्षदेखि जिल्ला समन्वय समिति प्रमुखसम्म रहेका छन् ।

डोल्पाको ठूलीभेरी नगरपालिकाका पूर्व नगरप्रमुख गणेशबहादुर शाही पहिलो पटक निर्वाचन लड्दै छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित शाही बीचमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएपछि चुनावको मुखमा भने एमालेमै आएका थिए । एमालेमा आउनेवित्तिकै शाहीले प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएका छन् । उनको भिडन्त नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वराज्यमन्त्री धनबहादुर बुढासँग हुने भएको छ ।

गत स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा शाहीलाई अंकगणितीय रुपमा प्रतिकूल छ । स्थानीय तहको निर्वाचनमा वडामा दोस्रो स्थानमा आएको एमालेको मत ४ हजार ५४५ मत छ । जबकी पहिलो स्थानमा रहेको माओवादीले ल्याएको मत ४ हजार ८५५, तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ३ हजार ६९ र चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीको मत १ हजार ३ सय ३४ रहेको छ ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका बुढाको मत दोब्बर भन्दा धेरै रहेको छ । त्यसकारण पनि गठबन्धनको मत तान्न नसक्ने अवस्था आएमा शाहीको संसदीय राजनीति अगाडि नबढ्ने देखिन्छ ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालसँग चुनावी मैदानमा आएका इलामका महेश बस्नेत पनि निवर्तमान जनप्रतिनिधि हुन् । इलाम नगरपालिकाका पूर्वमेयर बस्नेत पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन् । नेकपा एमाले इलामको अध्यक्ष समेत रहेका बस्नेतको पहिलो भिडन्त नै हेभिवेट नेता खनालसँग हुने छ ।

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त गरेको मत हेर्दा एमालेले २६ हजार २३३ मत पाएको छ । कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४८१, जनता समाजवादी पार्टीले १ हजार ८२९, नेकपा माओवादी केन्द्रले १ हजार २३५, राप्रपाले १ हजार १६९ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीको कमजोर संगठन बस्नेतको अनुकूलता हो । एमालेको बलियो संगठन र सत्तारुढ गठबन्धनको मत तानेर जित निकाल्ने रणनीतिमा बस्नेत देखिन्छन् । तर हेभिवेट नेता रहेका खनाललाई सत्ता गठबन्धनका अन्य घटकको ८० प्रतिशत मात्रै मत गएमा बस्नेतलाई चुनाव जित्न गाह्रो हुने देखिन्छ ।

एमालेबाट कैलाली–१ मा उम्मेदवारी दिएका तपेन्द्र रावल टीकापुर नगरपालिकाका पूर्वमेयर हुन् । रावलको प्रतिस्पर्धा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र सत्ता गठबन्धनबाट कांग्रेस नेता रामजनम चौधरीसँग छ ।

पहिलोपटक संसदीय चुनावी राजनीतिमा आएकी श्रेष्ठ पूर्वसांसद रेशम चौधरीकी पत्नी हुन् । रेशम चौधरीको आधार इलाका मानिने उक्त क्षेत्रमा कांग्रेस नेता रामजनम चौधरी संसदीय राजनीतिमा पुराना खेलाडी हुन् ।

गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नागरिक उन्मुक्ति पार्टी अगाडि छ । नागरिक उन्मुक्तिले १७ हजार १९३, नेपाली कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, नेकपा माओवादी केन्द्रले ६ हजार ९३० र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत पाएका छन् । यो चुनावी नतिजाले कैलाली–१ मा रञ्जिता श्रेष्ठलाई अनुकूल अवस्थामा देखाउँछ ।

सत्तामा रहेका दलहरूको गठबन्धन चाहिं उनका लागि चुनौती छ । अंक गणितीय रुपमा तेस्रो स्थानमा रहेका एमालेका रावलले सत्ता गठबन्धनको ठूलो संख्यामा मत तानेर मात्रै पुग्दैन श्रेष्ठको केही मत काट्नुपर्ने समेत स्थिति समेत देखिन्छ ।

यस्तै २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँ मन्सुर एमाले प्रवेश गरेर संघीय निर्वाचन लड्दैछन् ।

पर्सा ४ बाट उम्मेदवारी दिएका मन्सुरको भिडन्त संसदीय निर्वाचनमा लामो अनुभव भएका कांग्रेसका रमेश रिजालसँग हुनेछ । रिजाल पटक–पटक सोही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । दुई पटक उनी प्रत्यक्ष निर्वाचित भइसकेका छन् ।

स्थानीय तह निर्वाचनको मत हेर्दा अंकगणितीय रुपमा रिजाल मियाँ भन्दा थोरै मात्रै अगाडि देखिन्छन् । रिजालसँग सत्तागठबन्धनको करिब ३२ हजार मत छ भने एमालेका मियाँको करिब ३१ हजार मत छ ।

पर्सा ४ मा कांग्रेस पहिलो शक्ति भएता पनि दोस्रोमा रहेको एमालेलाई तेस्रो स्थानमा रहेको जसपाको साथ मियाँलाई छ । यस्तै माओवादी, नेकपा एकीकृत समाजवादी र लोसपाको समर्थन रिजाललाई छ ।

नेकपा एमालेले जुम्लाको तिला गाउँपालिकाका निवर्तमान अध्यक्ष रतननाथ योगीलाई पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । पार्टीको केन्द्रीय सदस्य एवं जुम्ला जिल्ला इन्चार्ज रहेका योगी पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी गोमा गौतम र राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीसँग भिड्दैछन् ।

जुम्लामा अंकगणितीय रुपमा योगी निकै पछि देखिन्छन् । स्थानीय तह निर्वाचनको मतको आधारमा जुम्लामा एमाले तेस्रो शक्ति हो । दोस्रो शक्ति रहेको माओवादीकी गौतमलाई पहिलो शक्ति रहेको कांग्रेसको पनि साथ छ ।

योगीको स्थानीय तहमा वडाअध्यक्षमा आएको मत हेर्ने हो भने ६ हजार ९६२ मात्रै छ । तर गौतमलाई कांग्रेसको १६ हजार ७५, माओवादी केन्द्रको १४ हजार १७५, नेकपा एकीकृत समाजवादीको ६ हजार १९५ मतको साथ रहेको छ । योगीको प्रमुख प्रतिस्पर्धी गौतमलाई उछिन्न गठबन्धनको ५० प्रतिशत भन्दा धेरै मत तान्नुपर्ने हुन्छ । यो पटक जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही पनि रहेकाले योगीलाई थप चुनौती देखिन्छ ।

यस्तै बाँकेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपति यो पटक संसदीय चुनावी मैदानमा होमिएका छन् । एमाले बाँकेका अध्यक्ष समेत रहेका कक्षपतिको भिडन्त सत्ता गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौरसँग हुनेछ । कक्षपतिको प्रमुख प्रतिस्पर्धी राठौर गत स्थानीय तहमा आएको वडाको मतभार जोड्दा बलियो अवस्थामा देखिन्छन् । ३ नम्बर क्षेत्रमा पहिलो स्थानमा रहेको कांग्रेसको मत २४ हजार १३४ छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेको मत २१ हजार ४२ छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत १४ हजार ८१८ छ । यस्तै गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीको १ हजार ५२५ मत छ ।

यसरी अंकगणितीय रुपमा २० हजार मतले कक्षपति पछाडि छन् । उनले संसदको यात्रा तय गर्न यो चुनावमा स्थानीय तहको भन्दा दोब्बर मत बढाउनुपर्ने देखिएको छ ।

नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर ५ बाट बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् । घिमिरेको भिडन्त सत्तारुढ गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहसँग हुने छ ।

नगरपालिकाका मेयर हुँदा तिलोत्तमा नगरलाई देशकै उत्कृष्ट मध्येको एक बनाएको भन्दै घिमिरे चर्चामा आएका थिए । गत वैशाखको स्थानीय तह निर्वाचनको अंकगणित हेर्दा यहाँ घिमिरे र शाहबीच कडा प्रतिस्पर्धा हुने स्थिति देखिन्छ । पहिलो स्थानमा रहेको घिमिरेको दल नेकपा एमालेको मत २७ हजार १४५ छ । घिमिरेलाई जसपाको समेत साथ छ । बाँके ३ मा जसपाको ९ हजार ३३३ मत रहेको छ ।

शाहको दल नेपाली कांग्रेसको उक्त क्षेत्रमा २६ हजार ८८८ मत आएको थियो । अहिले शाहलाई सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र (४ हजार ६२५ मत), लोकतान्त्रिक समाजवादी पार्टी (३ हजार ५५६ मत), नेकपा एकीकृत समाजवादी (१ हजार १६३ मत) र राष्ट्रिय जनमुक्ती पार्टी (७१८ मत)को समेत समर्थन छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका निवर्तमान सभापति समेत रहेका शाहले घिमिरेलाई चुनौती दिने देखिन्छ । घिमिरेको जितका लागि उनले आफ्नो गठबन्धनमा रहेको जसपाको मत जोगाउन नै ठूलो चुनौती देखिएको छ ।

यस्तै नेकपा एमालेबाट २०७४ मा नेकपा एमालेबाट अर्जुनधारा नगरपालिकाको मेयरमा निर्वाचित भएका हरिकुमार राना यो पटक माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका छन् । एमालेबाट राना केही समय अगाडि मात्र माओवादी प्रवेश गरेका थिए । रानालाई झापा क्षेत्र नम्बर २ बाट माओवादीले टिकट दिएको छ ।

रानाको प्रतिस्पर्धी पूर्वसहकर्मी नेकपा एमालेका देवराज घिमिरे रहेका छन् । राजनीति गरेको करिब ५० वर्षपछि पहिलो पटक जनताबाट अनुमोदित हुन चुनावी मैदानमा आएका घिमिरे रानाका लागि चुनौती बनेका छन् । यद्यपि सत्ता गठबन्धनले एमालेविरुद्ध एमालेकै नेतालाई उठाउँदा झापा–२ को चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

स्वतन्त्र उम्मेदवारको रुपमा स्वागत नेपाल पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तह निर्वाचनमा झापा–२ मा वडाअध्यक्षहरूले पाएको मतको आधारमा एमाले अगाडि छ । त्यसबेला एमालेले ३४ हजार ४१२, कांग्रेसले ३१ हजार १५८, राप्रपाले ९ हजार २९१ र नेकपा माओवादी केन्द्रले २ हजार ३५७ मत पाएको थियो । त्यस्तै, १ हजार ३३९ भोट स्वतन्त्र उम्मेदवारको पक्षमा खसेको छ । रानाले जित हात पार्न गठबन्धनको मतले मात्रै नपुग्ने देखिन्छ । यसको लागि एमाले र राप्रपाको मत समेत रानाले तानेमा मात्रै संसदीय यात्रा तय गर्न सक्ने सहज हुनेछ ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिकामा २०७४ मा निर्वाचित मेयर हुन् ।

२०३९ सालबाट नेपाली कांग्रेसको राजनीति गरेका चालिसे नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति समेत हुन् । उनी पहिलोपटक यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनको प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद रहेका कृष्णबहादुर राई रहेका छन् । राई अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार अम्बिका बस्नेतलाई हराएर सांसद बनेका थिए ।

गत स्थानीय तह चुनावको अंकगणितको आधारमा कांग्रेसका चालिसे अनुकूल देखिन्छन् । काठमाडौं–३ मा वडाअध्यक्षहरूले पाएको दलगत मतको आधारमा नेपाली कांग्रेस अगाडि छ । उक्त चुनावमा कांग्रेसले १५ हजार ७९५, एमालेले १४ हजार ८७६, नेकपा माओवादी केन्द्रले १ हजार ७३०, नेकपा एकीकृत समाजवादीले १ हजार ५६ र स्वतन्त्र उम्मेदवारले १ हजार ३१४ मत पाएका थिए ।

दुई जिसस प्रमुखको होला त संसदमा प्रवेश ?

नेकपा एमाले भक्तपुरबाट क्षेत्र नं १ मा नवराज गेलाल पहिलोपटक प्रतिनिधि सभा निर्वाचन लड्दैछन् । गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका निवर्तमान सभापति हुन् । नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर क्षेत्र नं. १ मा गेलालले निवर्तमान संघीय सांसद प्रेम सुवालसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

यहाँ नेमकिपा मजबुत अवस्थामा छ । अघिल्लो पटक वाम गठबन्धनले समेत सुवाललाई हराउन सकेको थिएन ।

यो पटक नेकपा माओवादी केन्द्रले समेत सुनिल गोठेलाई उम्मेदवार बनाएका कारण गेलालको संसदीय यात्रा कठिन छ ।

२०४८ सालयताका चुनावी नतिजा र गत वैशाखको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मत हेर्दा यसपटक पनि भक्तपुर–१ मा सुवाल नै सहज जितको अवस्थामा देखिन्छन् ।

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेमकिपाले ३३ हजार ८९५, एमालेले १४ हजार ११९, कांग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६ र माओवादी केन्द्रले १ हजार ३८८ मत पाएका छन् ।

यस्तै काठमाडौंका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख शिवसुन्दर राजवैद्य यो पटक काठमाडौं क्षेत्र नं. ८ बाट संसदीय निर्वाचनको मैदानमा छन् । वडा नम्बर १३ का स्थायी बासिन्दा राजवैद्यले २०५६, २०६४, २०७० र २०७४ को चुनावमा यो क्षेत्रबाट पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । राजनीतिशास्त्रमा स्नातकोत्तर राजवैद्य यसपटक आफैं उम्मेदवार छन् ।

काठमाडौं–८ मा नागार्जुन नगरपालिकाको वडा नम्बर ४ र ५ सहित काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडा पर्छन् ।

उनलाई जिताउन एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य काठमाडौं–८ मा सक्रिय छिन् । काठमाडौं–८ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ उम्मेदवार छन् । हाम्रो नेपाली पार्टीका सुमन सायमी, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलगायत पनि यहींबाट प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी छन् ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा सत्ता गठबन्धन अगाडि छ । उक्त चुनावमा कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३ र एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएका छन् ।

काठमाडौं ८ मा स्वतन्त्र मतहरु निर्णायक देखिन्छन् । वैद्यको भिडन्त सत्ता गठबन्धनबाट मात्रै नभई पछिल्लो युवा माझ प्रभावशाली छवि बनाएका स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र नेवा समुदायको भोट तान्न सक्ने सुमन सायमी बीच हुने देखिएको छ ।

डा.धवल : नयाँ सम्भावना खोज्दै पुराना खेलाडी

नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा.धवल शमशेर राणा यो पटक संसदीय चुनावी मैदानमा छन् । नेपालगञ्जको राजनीतिका पुराना खेलाडी मानिने धवल एमालेलाई साथमा लिएर राप्रपाबाट चुनाव लड्दैछन् ।

उनी पहिलो पटक संसदीय चुनावी मैदानमा आएका भने होइनन् । २०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ हाँकेका राणा २८ वर्षपछि फेरि दोस्रो पटक चुनावी मैदानमा ओर्लेका हुन् । २०५१ सालको आम चुनावमा उनी ‘स्वतन्त्र उम्मेदवार’ भएर संसदीय चुनाव लडेका थिए तर पराजित भए । २०५४ मा एमालेमा प्रवेश गरेर नेपालगञ्जको मेयर बनेका धवल २०७४ मा राप्रपाबाट विना गठबन्धन उपमहानगरको नेतृत्वमा आएका थिए । ‘नेपालगञ्ज बनाएँ, अब नेपाल बनाउँछु’ भन्दै भोट मागिरहेका उनलाई संसद छिर्न सहज भने छैन ।

यो निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगञ्जका २१ वटा र डुडुवा गाउँपालिकाका ६ वटा वडाहरू पर्दछन् । स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अगाडि देखिन्छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणा छन् । गठबन्धनका उम्मेदवारहरूले स्थानीय तहको निर्वाचनमा करिब २५ हजार मत ल्याएका थिए । राप्रपा र एमालेको मत करिब साढे २३ हजार मत देखिन्छ । यसमा एमालेभन्दा राप्रपाको मत लगभग आधा जतिमात्रै छ ।

धवललाई सुदिपको मात्रै नभई पूर्वमन्त्री मोहम्मद इश्तियाक राईकोसमेत पनि चुनौती छ । २८ वर्षमा सांसद भएर ३१ वर्षमै मन्त्री भएका इश्तियाक छोटो समयमै राजनीतिक यात्रामा ठूलै फड्को मारेको नेताको रुपमा परिचित छन् । ०६४ पछिका हरेक चुनाव लडेका इश्तियाक संसदीय राजनीतिको जोड घटाउमा अब्बल देखिएका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा नजिते पनि इश्तियाकले २०७४ सालको निर्वाचनमा उनले दुई गठबन्धनका बीचबाट आफूलाई स्थापित गरेका थिए । त्यो बेला एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले पशुपति दयाल मिश्रलाई समर्थन दिएको थियो । कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई सघाएको थियो । एक्लै चुनाव लडेका राईले दुवैलाई पराजित गरेका थिए ।

यसपालि पनि दुई गठबन्धनलाई चुनौती दिइरहेका इश्तियाक धवलको संसद यात्राको बाधक बन्न सक्छन् । डा. राणाले चुनाव जित्न एमाले र राप्रपाको मत जोगाउन मात्रै होइन विपक्षी गठबन्धन र अन्य स्वतन्त्र मत समेत तान्न सक्नुपर्छ ।

-अनलाइनखबरबाट

पालिका प्रेस
थप जानकारी