मकवानपुर थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले थाहानगरमा आएको मल समानुपातिक रुपमा वितरण भईरहेको बताएका छन् । नगर क्षेत्रका लागि कोटामा आउने अनुदानको मल भन्दा माग बढि भएकोले पु¥याउन कठिन भएको उप्रमुख गोपालीको भनाइ छ । ‘नगरका किसानहरुको माग बमोजिम रसायनिक मल ल्याउनका लागि पहल गर्छौ’–उपप्रमुख गोपालीले भने ।

थाहा नगरपालिकालाई प्राप्त ४५ टन मल १४ मंसिरबाटै वितरण शुरु गरिएको बताइएको छ । मल वितरणको जिम्मा पाएका केहि सहकारीहरुले १५ मंसिरबाट वितरण गर्ने तयारी गरिरहेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले प्रतिक्रिया दिए । यस अघि थाहानगरलाई प्राप्त भएको ९० टन युरिया र ६० टन डिएपी वितरण गरिसकिएको र हालको ४५ टन पनि वितरण शुरु भईसकेको प्रमुख तिवारीले जानकारी दिए ।

माग अनुसारको सबै कोटा प्राप्त नभईसकेकोले अहिले अभाव देखिएको भए पनि कोटा अनुसारको मल ल्याउन र कोटा बढाउन समेत प्रयास भईरहेको पनि प्रमुख तिवारीले बताए । समयमै मल नपाएको भन्दै थाहा नगरका किसानहरु आक्रोशित भईरहदा शुरु भएको मल वितरणले किसानलाई राहत पुग्ने तिवारीको प्रतिक्रिया छ । आलु लगाउँने समय नजिकिँदै गर्दा पनि पर्याप्त रूपमा मल खरिद गर्न नसक्दा किसानहरू फेरि गत वर्ष जस्तै मर्कामा पर्ने सम्भावना बढेको भन्दै थाहा नगरपालिका वडा नम्बर ३ का किसानहरू एकतृत भई नगरपालिकासँग छलफल गर्ने तयारी भएको थाहा ३ का किसान लक्ष्मण बर्तौलाले बताए ।

पालिका प्रेस
थप जानकारी