थाहा नगरपालिकाको आर्थिक समृद्धिका लागि सहकारीको योगदान महत्वपूर्ण रहेको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । विष्टले नगर भित्र रहेका साना सहकारीको एकीकरण आवश्यक रहेको औल्याए । थाहा नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दे नगर प्रमुख विष्टले यस्तो बताएका हुन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्था जिल्लामै सबैभन्दा धेरै सदस्य संख्या रहेको सहकारी पनि हो ।

प्रमुख विष्टले आर्थिक मन्दिको चपेटामा सरकारको तीन खम्बे अर्थनितिको एक खम्बा सहकारी पनि चपेटामा परेकोले आर्थिक मन्दीसंग जुध्न सहकारीहरुको एकीकरण आवश्यक रहेको बताए । त्यसका लागि लागि नगर भित्र रहेका ठुलो सहकारी संस्थाहरुले पहल गर्नुपर्नेमा जोड दिदै आवश्यकताको आधारमा थाहा नगरपालिकाले सहयोग गर्न तत्पर रहेको बताए । नगर प्रमुख विष्टले एकअर्को प्रसंग उल्लेख गर्दै आलोचनाको नाममा आलोचना मात्र गरिरहनेसंग कुनै गुनासो नरहेको बताउदै थाहानगरमा रासायनिक मलको समस्या समाधानको लागि नवनिर्वाचित प्रदेश तथा संघको सांसदहरूलाई केन्द्रमा पहल गरिदिन आग्रह गर्दै मलमा सहकारी र स्थानीय सरकारको समस्या नभई संघीय सरकारको नीतिले समस्या पारेको प्रष्ट पार्दै प्रदेश तहमा थाहा नगरभित्र रासायनिक मलको कोटा बढाउने आश्वासन पाएको बताए । पालुङ बहुउद्देश्यीय सहकारीले द्वन्दकालमा समेत यहाँका जनतालाई बैंकको सुबिधा दिएको स्मरण गर्दै देशमा अनेक व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन हुन नसकेकोले सहकारीहरुले बचत तथा ऋणको कारोबारबाट मुक्त भइ अन्य आर्थिक उपार्जनका क्रियाकलाप स्वरोजगार मुलक तथा सिपमुलक आर्थिक कारोबारमा जोड दिनुपर्ने बताए ।

  कार्यक्रमका विशिष्ट अतिथी अतिथी थाहानगरका उपप्रमुख भरत गोपालीले पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले गरेको सफलताको प्रशंसा गरे । उपप्रमुख गोपालीले आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिलका लागि शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको सभाध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल ‘जंगली’, नेपाल कृषि सहकारी संघ लेखा समिती संयोजक तथा साना किसान सहकारी बज्रवाराहीका अध्यक्ष महेश्वर सुवेदी, बागमती प्रदेश सहकारी संघका सदस्य, मकवानपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष बिमल कुमार ढकाल, पुर्व लेखासमिती संयोजक उमेश ढकाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा संस्थाका हेटौंडा सेवा केन्द्रका उपसमिती संयोजक बिष्णु प्रसाद ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब बिरेन्द्र ढुंगानालगायतकाको आतिथ्यता रहेको थियो ।

साधारणसभाको अवसरमा सहकारीमा उत्कृष्ट कारोवार गर्नेहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट बचत तर्फ केदार प्रसाद बिडारी, दिपक प्रसाद सुवेदी, अविनाश तामाङ, विद्या स्याङ्तानले सम्मान प्राप्त गर्दा असल ऋणी सदस्यहरु गणेश कुमारी कार्की, विमला गिरी, ठुलोकान्छा वाइवा, तुलसी बिष्ट, धर्मेन्द्र गोपालीले सम्मान प्राप्त गरे । त्यसैगरी मालागिरी आयाआर्जन समूह, चण्डेश्वरी महिला समूह तथा कालाभैरव महिला समूह उत्कृष्ट समूह घोषित भए । संस्थाले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट विद्यार्थीहरुमा संस्थागत तर्फ सरस्वती विद्या मन्दिर बज्रवाराहिका वसन्त भट्ट र हिमालयनकी सिम्रन कार्की उत्कृष्ट भए भने सामुदायिक विद्यालयको तर्फबाट सुनौला माबिकि कृतिका लामिछाने तथा जनकल्याणका मनोज कार्की उत्कृष्ट भए उनिहरुलाइ प्रमुख अतिथीले सम्मानपत्र तथा नगद प्रदान गरेका थिए।

त्यसैगरी वृद्ध सम्मानमा थाहा २ का गंगादत्त ढकाल तथा थाहा ६ कि माइली दमाई सम्मानित भए । साधारणसभाकै अवसरमा संस्थाका लेखा समिती संयोजक अच्युतम प्रसाद ढकालले जनकल्याण माविमा कक्षा ११ मा अध्यनरत २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई जनही १० हजार ५ सय नगद छात्रवृत्ति प्रदान गरेका थिए। कार्यक्रमलाई संस्थाका सचिव अरुण रायमाझीले संचालन गरेका थिए ।

सहकारीको नाफा ४ करोड नाघ्यो

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कारोवारबाट ४ करोड ७ लाख खुद नाफा गरेको छ । २ पौषमा आयोजित संस्थाको २३ ओं बार्षिक साधारणसभामा कोषाध्यक्षले पेश गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷२०७९ मा खुद नाफा पेश भएको हो । आर्थिक वर्ष २०७८÷२०७९ को असार मसान्तसम्म ७ करोड १३ लाख शेयर पुजी रहेको सस्थामा शेयर थप गरेपछि ९ करोड ९२ लाख ८० हजार रुपैया शेयर पुँजी पुगेको छ भने निक्षेप संकलन ५८ करोड तथा सदस्यहरुमा ऋण लगानी ९५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सस्थाको विभिन्न कोषमा १५ करोड ७० लाख रुपैया रहेको छ भने स्थापना कालदेखिनै शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आयको सस्थाले यस वर्र्ष पनि सहकारी संस्थाहरुले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश यस आर्थिक वर्षमा पनि दिन सक्षम भएको प्रतिवेदनमा उल्लेख छ। संस्थामा ऋण तथा बचतको कारोवार गर्ने शेयर सदस्यलाई वितरण गर्नुपर्ने शिर्षकको संरक्षित पुँजी कोषमा समेत यस आर्थिक वर्षमा संस्थाको ७६ लाख ६० हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

थाहा नगरपालिका वडा न ४ थानाबजारमा मुख्य कार्यालय रहेको संस्थाको थाहा ६ बज्रवाराही तथा हेटौंडामा सेवा केन्द्रको रुपमा सम्पर्क कार्यालय रहेको छ ।

पालिका प्रेस
थप जानकारी